चितवन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीलाई साथ दिन कांग्रेसको नैतिकताले नदिने बताएका छन्। चितवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले प्रचण्ड–माधव नेपाल पक्षलाई साथ दिन भने कांग्रेस सकारात्मक रहेको बताए।
उनले केपी ओलीले देश, व्यवस्था र संविधानलाई जोखिममा पारेकोले उनलाई समर्थन गर्न कांग्रेसको नैतिकताले नदिने बताएका हुन्। यतिखेरको राजनीतिमा केपी ओली बाहेक अरुसँग समझदारी गरेर अहिलेको संकटलाई पार गराउनु पर्ने बताए।
पौडेलले भने, ‘कांग्रेस आफैँ मात्र हुनुपर्छ भन्ने पनि छैन। यदि यस्तो भयो भने कांग्रेस अरुको खेलौँना भएर भूमिकाविहिन हुन सक्छ। अहिलेको देशको संकट अरुलाई साथ दिएर पनि पार लगाउन सकिन्छ। त्यसको लागि प्रचण्ड माधव समूहलाई प्रधानमन्त्री मानेर जाने कुरामा सकारात्मक हुन सकिन्छ।’
तर, त्यसको लागि छलफल भने आवश्यक रहेको उनले बताए। कांग्रेससँग एक चौथाई सिट नभएको र अरुसँग मिल्नुपर्ने भएकाले कोसँग मिल्ने भन्ने विषयमा सल्लाह भइरहेको उनले बताए। भद्रगोल बन्दै गएको नेपालको राजनीतिलाई कांग्रेसले सम्हालेर लैजानुपर्ने बेला आएको उनले बताए।
विघटनबाट बचेको देशलाई व्यवस्थाको विकृतिबाट बचाउनुपर्नेमा जोड दिए। यसका लागि कांग्रेसले आफ्नो हैसियतअनुसार जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ भन्दै संकटबाट देश र व्यवस्थालाई पार लगाउने जिम्मेवारी कांग्रेसबाहेक अरुसँग नभएको बताए।




