देश

जनतालाई विकास होइन, प्रधानमन्त्री ओलीले जुलुस र सभा देखाइदिने

काठमाडौं । दुई तिहाइ निकट बहुमत पाएर प्रधानमन्त्री बनेका केपी ओलीबाट नेपाली जनताले विकास र सुशासनको अपेक्षा गर्नु अब बेकार भएको छ । अनिश्चितकालसम्म प्रधानमन्त्री बन्न प्रतिनिधिसभा विघटन गरेका ओलीले अब देश र जनतालाई विकास र सुशासन होइन, जुलुस र सभा देखाइदिने भएका छन् । त्यो पनि आफैंले घोषणा गरेर ।

नेकपा (माधव–प्रचण्ड) समूहको माघ ९ गतेको जुलुस र आमसभादेखि तर्सिएका ओलीले माघ २३ गते त्योभन्दा पनि ठूलो जुलुस र आमसभा गरेर देखाइदिने घोषणा गरेका हुन् । यस्तो घोषणा पनि उनले पार्टीको कार्यक्रममा होइन, सशस्त्र प्रहरी बलको वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै भनेका हुन् ।

कुनै पनि देशको प्रधानमन्त्री दलबाट निर्वाचित भएको हुन्छ । र, प्रधानमन्त्री भइसकेपछि ऊ सबै जनता र देशको हुन्छ । तर, ओलीले अहिलेसम्म आफूलाई नेकपाको एउटा गुटको भन्दा अरुको प्रधानमन्त्री बनेर देखाउन सकेका छैनन् । त्यसैले उनी अरुको उछितो काढ्नमै व्यस्त छन् ।
प्रधानमन्त्रीको काम भनेको जनताको आशा अपेक्षा पूरा गर्नु, विश्वका अन्य देशसँग कूटनीतिमार्फत आर्थिक सहयोग भित्र्याउनु, सरकारी काममा ढिलासुस्ती भए कारबाही गर्ने, आर्थिक अनियमितता भए कारबाही गर्ने, विकासका योजना चाँडो पूरा गर्न लगाउनेलगायत हुन् । संविधान र कानुनको रक्षा गर्ने दायित्व पनि प्रधानमन्त्रीकै हो ।

तर प्रधानमन्त्री ओलीबाट माथि उल्लिखित एउटा विषय पनि पूरा हुन सकेको छैन । उनले गर्न सकेका छैनन् । कुनै पनि विकास योजना पूरा गर्न सो विषयमा विज्ञता आवश्यक पर्छ । तर, ओली अरुको विज्ञता देखिसहँदैनन् । बुद्धिजीवीलाई लाञ्छना लगाउँछन् । संविधानकै हुर्मत लिन्छन् । अरु पार्टीले गरेका विरोध प्रदर्शनलाई देखाउन सरकारी ढुकुटी दुरुपयोग गर्न खुलेआम चुनौती दिन्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *