समाचार

साइपाल गाउँपालिकामा आँखा शिविर सुरु

बझाङ । हिमाली गाउँपालिका साइपालमा आँखा शिविर सुरु भएको छ । शनिबारदेखि सुरु भएको शिविरमा ३६ जनाको आँखाको शल्यक्रिया तथा उपचार गएिको छ ।

सुदूरपश्चिम प्रदेश सरकार, तिलगङ्गा आँखा अस्पताल काठमाडौं, गाउँपालिका र जिल्ला अस्पतालको आयोजनामा भएको आँखा तथा बृहत् स्वास्थ्य शिविरमा भिडियो एक्सरे, हाइड्रोसिल जाँचलगायत स्वास्थ्य सेवासमेत प्रदान गरिएको जिल्ला अस्पतालका प्रमुख डा सन्दीप ओखेडाले बताए । आँखाको समस्या देखिएका धेरै बिरामी भएका कारण स्थानीयस्तरमै सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीको भनाइ थियो ।

गाउँपालिकाले असोजमा ९ सय २३ जनाको सामान्य जाँच तथा आँखा परीक्षण गरेकामा ६ सय ४३ ज्येष्ठ नागरिकमा आँखाको समस्या देखिएपछि तिलगङ्गा आँखा अस्पतालका कार्यकारी निर्देशक डा रीता गुरुङलगायत नौ चिकित्सकसहित ४० स्वास्थ्यकर्मीको टोली उक्त ठाउँमा पुगेको हो । शिविरमा आइतबार बिहानसम्म करिब एक हजार चार सय बिरामीको जाँच गरिएको, १ सय ३५ जनालाइ चस्मा वितरण गरिएको ३६ जनाको आँखाको शल्यक्रिया गरिएको शिविर टोलीमा सहभागी पत्रकार वसन्तप्रताप सिंहले जानकारी दिए ।

पहिलोपटक स्थानीयस्तरमै शिविर सञ्चालन भएपछि स्थानीयवासी खुशी भएका छन् । धेरै पैसा खर्च गरेर उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको गाउँपालिका काँडा घर भएका बमबहादुर बोहोराले बताए । शिविरको उद्घाटन सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *