समाचार

झापुटारमा खानेपानीको समस्या

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाको मुख्य प्रभावित क्षेत्र ऋषिङ गाउँपालिका–१ झापुटार क्षेत्रका स्थानीयवासीले खानेपानीको समस्या भोग्दै आएका छन् ।

तनहुँ जलविद्युत् आयोजनाको काम गर्दा र केही दिन अघि परेको वर्षातपछि गएको पहिराका कारण खानेपानीमा क्षति पुगेपछि बेलटार र झापुटार बजार क्षेत्रका बासिन्दाले पानीको समस्या भोग्नुपरेको हो । धारामा पानी नआएपछि बञ्चरे भन्ने स्थानबाट एक घण्टाको पैदल हिँडेर पानी ल्याउनुपरेको स्थानीय कालीमाया थापाले दुखेसो पोखे ।

‘टाढाबाट पानी बोकेर घरव्यवहार चलाउन गाह्रो पो हुँदोरहेछ,’ उनले भने । यसक्षेत्रमा करिब ५०० घरधुरीका मानिस पानीको समस्या झेल्दै आएका छन् । स्थानीयवासीले खाँदै आएको पानीको पाइप आयोजनाको सुरुङ निर्माण गर्ने क्रममा क्षति हुँदा खानेपानी अवरुद्ध भएको हो । खानेपानी अवरुद्ध भएपछि आयोजनाले ट्याङ्करमार्फत वितरण गर्ने पानी टाठाबाठाले त एक दुई गाग्री पानी थाप्न पाउँछन् तर सिधासाधा त कुँवाको पानी पिउन बाध्य रहेको स्थानीय टेकबहादुर गर्जामगरले बताए ।

झापुटारमा निर्माणधीन तनहुँ जलविद्युत् आयोजनाले १४० मेगावट क्षमताको विद्युत् उत्पादन गर्न सुरुङ निर्माणको लागि माटो परीक्षण गर्ने क्रममा खानेपानीको मुहान र पाइपमा क्षति पुग्दा खानेपानी अवरुद्ध भएको हो ।

एक महिना अघिदेखि करिब २०० मिटर खानेपानी पाइपमा क्षति भएपछि स्थानीयवासीले खानेपानीको समस्या भोग्दै आएको दीपेन्द्र शाहीले बताए । उक्त खानेपानी क्षेत्रमा भएको क्षतिको विवरण तयारी गरी लागत इष्टिमेट गर्ने कार्य भैरहेकाले तत्काल पानी पुनः सञ्चालन गर्ने योजना रहेको उनले बताए । बस्तीदेखि करिब दुई किलोमिटर दुरीमा पर्ने मुर्कुलुङ खानीडाँडाबाट ल्याइएको पानीको पाइपमा क्षति पुर्‍याएपछि खानेपानीको समस्या भएको उनले जानकारी दिए ।

खानेपानीको समस्या भएपछि आयोजनाले स्थानीयवासीलाई ट्याङ्करको माध्यमबाट पानी वितरण गरेपनि पर्याप्त मात्रामा पाउन नसकेको स्थानीवासीको गुनासो रहेको छ ।

तनहुँ हाइड्रोको सहयोगमा किस्रिडी रोह्ङसिंडी खानेपानी योजना सञ्चालन हुँदै आए पनि लामो समयदेखि पानी अवरुद्ध हुँदा स्थानीयवासीले लामो दूरीबाट पानी बोकेर खानु परेको छ । आयोजनालाई पटक पटक खानेपानीको विषयमा जानकारी गराएपनि बेवास्ता गरिएकाले स्थानीयले पानीको समस्या भोग्नुपरेको बेलटार बच्याङ गौडा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष केशरबहादुर थापाले बताए ।

आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाको धेरै माग रहेकोले प्राथमिकताको आधारमा क्रमिक रुपमा पूरा गर्दै जाने योजना रहेको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाले बताए ।

बुल्दीखोला पुलको जोखिम हट्यो

पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको व्यास नगरपालिका– १ र २ जोड्ने बुल्दीखोलामाथि राखिएको फलामको रेलिङ भाच्चिँदा जोखिम बनेको रेलिङको मर्मत सम्भार गरिएको छ । पुलको दायाँबायाँ राखिएका फलामका रेलिङ खिया लागेर जीर्ण हुनका साथै केहि रेलिङ भाच्चिएर उक्त पुलबाट खसेर दुई पैदलयात्री सख्त घाइते भएपछि बिहीबारदेखि नै मर्मत कार्य थालिएको हो ।

मानिस साँझ बिहान हिँड्दा खतरा बढेकाले तत्काल मर्मत सम्भारको लागि कार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिएपछि काम अघि बढाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । रेलिङ भत्केर समयमा मर्मत नहुँदा भदौको १० गते धादिङ घर भएका ३० वर्षीय दिनेश थापा अचानक खस्दा उनको एक खुट्टा भाँचिएको थियो ।

बेवारिसे अवस्थामा रहेका उनको स्थानीयवासीले आर्थिक सङ्कलन गरेर पोखरामा खुट्टाको अप्रेशन गरी फर्किएका थिए । व्यास नगरपालिका–२ निवासी रामजी लौडारीको नेतृत्वमा रु १५ हजार रकम सङ्कलन गरी उनको उपचार गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *