देश

नेपालगञ्ज उपमहानगरका जनप्रतिनिधि र कर्मचारी भन्छन ‘कर्तव्य निर्वाह गर्दा सङ्क्रमित भए पीर छैन’   

राँझा ।  नेपालगञ्ज उपमहानगरपालिकाका कोरोना सङ्क्रमित जनप्रतिनिधि र कर्मचारीले जनताको काम गर्दा सङ्क्रमित हुनु परेकामा कुनै पश्चाताप नरहेको बताउछन । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नं १ का अध्यक्ष प्रमोद रिजाल र वडा नं २० का कम्प्युटर अपरेटर पदम कार्कीले सामाजिक सञ्जालमार्फत आफू सङ्क्रमित भएकामा भन्दा जनताको स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गरेका छन।

“जनताको काम गर्दागर्दै मलाई कोरोना सङ्क्रमण भए पनि पीर छैन, म त स्वस्थ नै छु । पीर त मेरा जनताको स्वास्थ्यको छ, कसैलाई पनि केही नहोस् ।”, जनतालाई सान्त्वना दिँदै उनले भने , “यस्तो बेलामा नआत्तिऔँ बरु सबैले सावधानी अपनाऔँ ।”

कोरोना रोकथामको अभियानमा अग्रभागमा रहेर क्रियाशील हुँदै आउनुभएका वडाध्यक्ष रिजाललाई उपमहानगरपालिका र वडाको काम गर्ने क्रममै सोमबार कोरोनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । जनताकै सुरक्षाका लागि काम गर्दागर्दै सङ्क्रमित हुनु परेकामा आफू कहीँ कतै दुःखी नभएको बताउँदै उनले जनताको सेवा अनि आफ्नो कर्तव्य पूरा गर्ने क्रममा आफू भाइरसको सङ्क्रमणमा परे पनि वडावासीले सुरक्षा सतर्कता अपनाउन अनुरोध गरे ।

“जनतालाई सुरक्षित बनाउनकै लागि आफ्नो जिउज्यान नै जोखिममा राखेर यथाशक्य सुरक्षित हुने प्रयास गरेकै हो तर सङ्क्रमण भइहाल्यो”,उनले भने,“कोरोनासँग डराएर भागेर हुँदैन, पराजित गरी फर्किने छु ।”

नेपालगञ्ज उपमहानगरपालिका–२० का कम्प्युटर अपरेटर कार्कीलाई पनि जनताको काम गर्ने क्रममै सोमबार कोरोना सङ्क्रमण देखिएको छ । नेपालगञ्जस्थित लायन्स डेण्टल अस्पतालमा रहेको आइसोलेशन केन्द्रमा उपचार गरिरहनुभएका ३३ वर्षीय कार्कीले कोरोना सङ्क्रमणको जोखिम रहँदारहँदै पनि जिम्मेवारी वहन गर्ने क्रममा सङ्क्रमण भए पनि आफूलाई कुनै दुःख नलागेको बताए ।

उनले भने, “जनताको काम गर्ने क्रममा कोरोना लाग्यो, त्यसमा मलाई कत्ति चित्त दुखाइ छैन, निको भएर छिट्टै जनताको काममा फर्किने छु ।” समुदायमा कोरोना फैलिएकाले सबैजना सजक र सचेत हुन जरुरी रहेको कम्प्युटर अपरेटर कार्की बताउछन । आम जनताको सजगता र सचेतनाबाटै यस रोगबाट बच्न सकिने भएकाले हरेक नागरिक जिम्मेवार हुनु आवश्यक रहेको उनको भनाइ छ ।

उपमहानगरपालिकाका वडाध्यक्ष र वडा कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका पूर्ण रुपमा बन्द (सिल) गरिएको छ । जनप्रतिनिधि र कर्मचारी गरी आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि सोमबारदेखि उपमहानगरपालिका कार्यालय ‘सिल’ गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिए ।

वडाध्यक्ष र सात कर्मचारीमा कोरोना देखिएपछि सङ्क्रमणको जोखिमका कारण अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए । रोगको सङ्क्रमणको अवस्थामा समान्य भएपछि कार्यालय नियमित रुपमा सञ्चालन हुनेछ उनले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *