मुख्य समाचार

डा. केसी र सरकारी टोलीबिचको वार्ता स्थगित

काठमाडौं- अनशनरत प्रा डा गोविन्द केसीका मागका सम्बन्धमा सरकारी वार्ता टोली र उहाँका प्रतिनिधिबीच भएको वार्ता आज ४ बजेसम्मका लागि स्थगित भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुवै टोलीबीच भएको वार्ता सकारात्मक ढंगले अघि बढेको डा केसीका तर्फबाट सहभागी नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिए ।

उनीसँग वार्ता गर्न सरकारले बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी टोलीमा सहसचिव जीवराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलीप शर्मा सहभागी हुनुहुन्थ्यो ।

सरकारले टोली गठन गरेलगत्तै डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको थियो । उक्त टोलीमा डा अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल र नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा कार्की सहभागी हुनुहुन्छ ।चिकित्सा शिक्षा सेवा सुधारका लागि भन्दै डा केसीले भदौ २९ गते जुम्लाबाट अनशन शुरु गरेका थिए ।

यो उनको १९औँ अनशन हो । डा केसीले चिकित्सा शिक्षा सुधारका विषयमा ६ बुँदे माग प्रस्तुत गरेका थिए  । अनशन शुरु भएको एक हप्तापछि उहाँलाई सरकारले जुम्लाबाट काठमाडौँ ल्याएको थियो ।

डा केसीको जीवन रक्षाको माग गर्दै मुलुकका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *