काठमाडौँ। वैदेशिक रोजगार कार्यालय ताहाचलबाट दिने श्रम स्वीकृति आजदेखि पुनः सुचारु हुने भएको छ । फ्रन्ट डेक्समै काम गर्ने एक जना कर्मचारीमा कोरोना पोजेटिभ पुष्टि भएपछि असोज १४ गते बुधबारदेखि बन्द भएको सेवा पुनः सञ्चालन हुने कार्यालयले जनाएको हो ।
तत्कालै गन्तव्य देशमा पुग्न नसके रोजगारी गुम्नसक्ने जस्तो अवस्था भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी पुनः सेवा सञ्चालन गर्न लागिएको सो कार्यालयका सूचना अधिकार छत्रबहादुर साहले जानकारी दिए । उनले सेवाग्राहीले भौतिक दूरीका साथै स्वास्थ्यसम्बन्धी अरू मापदण्ड पालना गर्न आग्रह गरिने पनि जानकारी दिए ।
उनका अनुसार यस्तै गोलो घेरो लगाएको ठाउँमा उभिएर मात्र सेवा लिन र सेवा लिनुभन्दा पहिले साबुन पानीले हात धुन अनिवार्य गरिएको छ । सूचना अधिकारी साहले पछिल्लो समयमा दैनिक ३००÷३५० जनालाई सेवा दिँदै आएको सो कार्यालयले भिसाको म्याद सकिन लागेकालाई लक्षित गरेर बढीमा सय जनालाई मात्रै सेवा दिने गरी तयारी गरेको बताए ।




