रोल्पा – जिल्ला प्रशासन कार्यालय रोल्पाको अगुवाइमा आइतबार लिबाङ बजार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर के.सी.को नेतृत्वको टोलिले बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा दैनिक उपभोग्य बस्तुहरु विक्री वितरण गर्ने पसलहरु, नास्ता÷खाजा तथा मिठाइ पसलहरु, मदिरा बेचविखन गर्ने पसलहरुलाई मुख्य प्राथमिकतामा राखिएको थियो ।
अनुगमन टोलीले पसलहरुबाट म्याद गुज्रेका खाद्य सामाग्री जफत गरि आजै नष्ट गरेको छ भने मूल्यसूचि, विक्रिवील, खरिदवील र पसल दर्ता भएनभएको बारेमा ब्यवसायिहरुलाई सचेत गराएको छ ।
अनुगमनका क्रममा सदरमुकाम स्थिति घिमिरे किराना पसल, शिव किराना पसल, जय माँ दुर्गे मिठाई पसल, दीपा किराना पसल, प्रकाश किराना पसल, चोयबाङी किराना पसल, कालिका इन्टर प्राइजेज, नर्गिस खान स्टोर्स, अंकित मिठाइ तथा नास्ता पसल, दङ्गाली पसलबाट म्याद गुज्रिसकेर पनि विक्रि वितरणका लागि राखिएका सुजि, तेल, घिऊ, फ्रुटि, मदिरा लगायतका विभिन्न खाद्य पदार्थहरु जफत गरी नष्ट गरिएको थियो ।
बजार अनुगमनका संयोज सहायक प्रजिअ केसीले मानव स्वास्थ्यको खेलवाड गर्दै धन कमाउने नाममा मनोमानी ढंगबाट ब्यापार संचालन गर्नु कानून विपरित भएको बताउनु भयो । आगामी दिनमा यस किसिमको गल्ती नदोहो¥याउन उहाँले सम्पूर्ण व्यवसायिहरुलाई निर्देशन दिनुभएको छ ।
प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाका अनुसार नियमित कार्यक्रम अन्तर्गत हिजो आइतबार लिबाङ अनुगमन गरिएको हो । कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासका कारण केही समय अनुगमन रोकिएको भएपनि अबका दिनमा बजार अनुगमनलाई निरन्तरता दिइने छ । उहाँका अनुसार केहीदिन अघि बसेको बैठकको निर्णय अनुसार प्रत्येक २ महिनामा एक पटक बजार अनुगमन गर्ने निर्णय गरिएको भएतापनि आवस्यकता अनुसार जुनसुकै समय र स्थानमा अनुगम बजार हुन सक्नेछ । यसैवीच उहाँले भन्नुभयो “व्यापार व्यवसायिले गाउँतिर म्याद गुज्रेका सामाग्री पठाउने गरेका छन् भन्ने सुन्नमा आएको हुँदा यसतर्फ हाम्रो विशेष ध्यानाकर्षण भएको छ । ”
हिजो भएको बजार अनुगमनमा कोष नियन्त्रक हेमन्तराज आचार्य, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक सन्तोष के.सी, सहायक प्रजिअ नवराज शर्मा दोरङ्गा, उद्योग अधिकृत तिलकराम वली, उद्योग बाणिज्य संघका उपाध्यक्ष केशवकुमार आचार्य, पत्रकार महासंघका प्रतिनिधि मिनराज रोका लगायतको उपस्थिति रहेको थियो ।




