काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ-क्वारेन्टाइनमा बसेका छन् ।नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारी अनुसार प्रधानसेनापति थापा आजदेखि सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।
भान्सामा कार्यरत एकजनालाई शनिबार कोरोना पुष्टि भएपछि प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशिका बमोजिम हेल्थ प्रोटोकल अनुसार सेल्फ-क्वारेन्टाइनमा बसेको बताइएको छ ।
नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले क्वारेन्टिनमा बसेको केही दिनपछि मात्रै उनको स्वाब परीक्षण गरिने जनाएको छ । स्वास्थ्य मन्त्रालयले समेत सङ्क्रमितको सम्पर्कमा आएको पाँच दिनपछि मात्रै स्वाब परीक्षण गराउन निर्देशिका जारी गरेको छ ।
नेपाली सेनामा हालसम्म २ हजार १९७ जना कोरोना संक्रमण पुष्टी भइसकेको छ। संक्रमित मध्ये दुई जनाको मृत्यु भएको छ भने ५३९ जना निको भइसकेका छन्। अहिले नेपाली सेनामा उपचारत कोरोना संक्रमितको संख्या १ हजार ६५६ रहेको छ।




