काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको शनिबार रथारोहण गरी शुभारम्भ गरिएको छ । उपत्यकाकै सबैभन्दा लामो समयसम्म मनाइने रथयात्रा ललितपुरको पुल्चोकबाट शुरु भई गावाहाल मंगलबजार सुन्धारा हुँदै लगनखेल पुर्याइन्छ । थहिटी पुर्याएर साइतअनुसार नरिवल खसालेर पछि जावलाखेल ल्याई राष्ट्रप्रमुखसहित विशिष्ट व्यक्तिहरु सामुन्ने भोटो देखाएर रथयात्रा समाप्त हुने चलन छ ।
रथारोहण अगाडि ललितपुरको कटवाल दहमा पूजा आराधनापछि कलश पुल्चोक ल्याइन्छ । मल्लकालिन राजा नरेन्द्र देवको पालामा उपत्यकामा खडेरी परेपछि पानी पार्न मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको जनविश्वास छ । यस वर्ष कोरोना भाइरसको महामारीका कारण पटक पटक स्थगित हुँदै आएको मच्छिन्द्रनाथको रथारोहण आज भएको हो ।




