काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम खेलमा आज नेपालले युएईको सामना गर्दै छ ।
आजको खेलमा युएईले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । युएईका कप्तान मोहमद वासिमले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् ।
त्यस्तै नेपालले आफ्नो टिममा एक परिवर्तन गरेको छ । नेपालले करण केसीलाई बेन्चमा राखेर उनको ठाउमा गुलशन झालाई खेलाएको छ ।
आजको नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान) आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।
यसैबीच बिहानै देखि टियु क्रिकेट मैदानमा दर्शकको भिड लागेको छ । क्यानले सबै ११ हजार टिकट बिक्रि भएको जानकारी दिएको छ । आजको खेल हेर्न काठमाडौँ बाहिरबाट समेत ठुलो संख्यामा दर्शकहरु टियु मैदान पुगेका छन् ।
युएई शिर्ष तिनमा पर्न असफल भएको र एक एकदिवसीय मान्यता पाउन पनि प्लेअफ खेल्नुपर्ने अवस्था रहेकाले यस खेलको महत्व देखिदैन तर नेपालका लागि लागि भने यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।
नेपालले युएईलाई पराजित गरेर विश्वकप क्वालिफायरमा सिधै छनौट हुने अवसर रहेको छ ।
जारी सिरिजमा नेपाल अपराजित रहेको छ । नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको छ भने युएईलाई पहिलो खेलमा पराजित गरेको छ ।
त्यस्तै युएले यस सिरिजमा खेलेका तीन मध्ये एक खेल जितेको छ भने दुई खेलमा हार बेहोरेको छ ।
आइसीसी विश्वकप लिग-२ मा नेपाल अहिलेसम्म ३५ खेलमा ३८ अंकसहित चौथो स्थानमा रहेको छ भने युएईको ३५ खेलमा ३३ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ ।




