काठमाडौँ । युएईमा जारी आईसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपालले आज मलेसियाको सामना गर्दै छ ।
खेल नेपाली समय अनुसार १०:४५ बजेदेखि शुरु हुने छ । त्यस्तै आज युएई र कुवेत तथा सिंगापुर र हङकङबीच पनि खेल हुदै छ ।
नेपालले यस प्रतियोगितामा शानदार शुरुवात गरेको छ । नेपालले अहिलेसम्म तीन खेल खेल्दै तिनैमा जित हासिल गरेको छ । नेपालले शुक्रबार आफ्नो पहिलो खेलमा सिंगापुरलाई ९६ रन अन्तरले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको थियो भने शनिबार कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । त्यस्तै सोमबार हङकङलाई ९ विकेटले पराजित गरेको थियो ।
त्यस्तै मलेसियाले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेको छ । मलेसियाले कुवेतविरुद्ध जित हासिल गरेको छ भने सिंगापुर र युएईसँग हार बेहोरेको थियो ।
नेपालले आज मलेसियासँग खेलेपछि फागुन १८ (मार्च २) मा युएईसँग खेल्ने तालिका रहेको छ ।
प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेलिरहेको छ । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ ।
२०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्नका लागि नेपालले यस प्रतियोगिताको शीर्ष स्थानमा रहनु पर्ने छ ।
नेपाली यू–१९ टोलीमा देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा रहेका छन् भने साथै यू-१९ टिमको मुख्य प्रशिक्षक जगत टमाटा रहेका छन् ।




