सान्तोस । विश्व फुटबलका लेजेन्ड पेलेलाई श्रद्धाञ्जलि दिन हजारौँ प्रशंसकको साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा पुगेका छन् ।
अल्बर्ट आईन्सटाइन अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि सान्तोस क्लबको भिला बिलमिरो रंगशालामा लगिएको हो ।
तीन पटक फिफा विश्वकप जितेका पेलेको गत बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको थियो । आफ्ना प्रिय खेलाडीलाई अन्तिम पटक बिदाईमा हजारौँ समर्थक उपस्थित भएका छन् ।
३० डिग्रीभन्दा माथिको तापक्रमको वास्ता नगरी उनीहरुले दुई घन्टाभन्दा बढी लाइनमा बसेर पेलेलाई श्रद्धाञ्जलि अर्पण गरेको रोयटर्सले जनाएको छ ।
ब्राजिलको सानो सहर सान्तोसको जनसंख्या करिब चार लाख ३० हजार छ । पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए।
पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन पुगेका फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कम्तीमा एउटा रंगशालाको नाम पेले राख्न आफ्ना दुई सय एघार सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् । उनले पेले शाश्वत भएको भन्दै फिफाले पनि पेले प्रति उच्च सम्मान गर्ने जानकारी दिए ।
पेले सन् १९४० मा ट्रेस काराकोएसमा जन्मिएका थिए । वास्तविक नाम एडसन अरान्ते दो नासिमेन्तो भएका पेले सन् १९५६ मा परिवारसहित सान्तोस बसाई सरेका थिए । उनले आफ्नो जीवनको अधिकांश समय सान्तोसमै बिताए ।
ब्राजिलका पूर्व मिडफिल्डर जे रोबर्टो र पेलेका छोरा एडिन्होले कफिनलाई पिचमा राख्न सहयोग गरेका थिए । ब्राजिलका नेइमार, भिनिसियस जुनियर, रियाल मड्रिड क्लब लगायतले पुष्पाञ्जलि पठाएका थिए । विश्वभर बाट ५० हजार पत्रकारले पेलेको अन्तिम संस्कारको समाचार संकलनका लागि अनुमति लिएको सान्तोसको प्रेस कार्यलयलाई उदृत गर्दै रोयटर्सले बताएको छ ।
२४ घन्टाको श्रद्धाञ्जलि सभापछि पेलेको आज निजी समारोहमा अन्तिम संस्कार हुनेछ । जहा राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाको उपस्थिति रहनेछ । सार्वजनिक व्यवस्था सुनिश्चित गर्नका लागि साओ पाउलो राज्यको सैनिकले किङ पेले अपरेशन सञ्चालन गर्ने जानकारी दिएको छ ।




