काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी – २० लिगमा लगातार तेस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गर्दै लुम्बिनीले अपराजित यात्रा कायमै राखेको हो ।
पोखराले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ३५ रन बनायो ।
लुम्बिनीका कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । उनले चार चौका र दुई छक्का प्रहार गरे । यस्तै, शदली भानले अविजित ३१ र अनमुक्त चन्दले २२ रन जोड्दा अनिल साहले १९ रन बनाए ।
पोखराका कुशल मल्ल र विपिन खत्रीले २ – २ विकेट लिए भने प्रतिस जिसी, अभिमन्यु मिथुन र जाहिर खानले १ – १ विकेट ढाले ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रनको योगफल बनाएको थियो ।
पोखराका कुशल मल्लले अर्धसतक पूरा गर्दै सर्वाधिक ६१ रन बनाए । उनले पाँच छक्का र पाँच चौका प्रहार गरे ।
उपुल थरंगा भने अर्धसतक बनाउनबाट चुके । उनी ४२ रन बनाउँदा मिलन्था महतोबाट क्याच आउट भए । यी दुई ब्याट्सम्यान बाहेक पोखराका अन्य ब्याटर क्रिजमा चल्न सकेनन् ।
हारको शृंखला तोड्ने लक्ष्यका साथ मैदान उत्रिएको पोखराको यो लगातार तेस्रो पराजय हो । अंकविहीन पोखरा तालिकाको पुछारमा छ ।
यसअघिका खेलमा पोखरा काठमाडौं नाइट्ससँग २६ रन र जनकपुर रोयल्ससँग पाँच विकेटले पराजित भएको थियो ।
शरद भेषावकरको कप्तानीमा रहेको पोखराले ब्याटिङमा राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । लुम्बिनी भने तीन खेलमा तीनैमा जित निकाल्दै ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा कायम छ ।
फार वेस्ट युनाइटेडमाथि ६७ रनको फराकिलो जित हात पारेको दीपेन्द्रसिंह ऐरीको लुम्बिनीले विराटनगर सुपर किंग्सलाई ३ रनले पराजित गरेको थियो ।




