समाचार

केशव स्थापितलाइ निर्वाचन आयोगको पुनः स्पष्टीकरण

काठमाडौँ । नेकपा ९एमाले०बाट काठमाडौं महानगर मेयरका उम्मेदवार केशव स्थापित निर्वाचन आयोगको पुनः स्पष्टीकरणमा परेका छन् । उक्त महानगर मेयरका अर्का उम्मेदवार बालेन शाहबारे गरेको टिप्पणीबारे आयोगले स्पष्टीकरण सोधेको हो ।

बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थापितको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएको आयोगले जनाएको छ ।

प्रवक्ता पौडेलले भने, ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवाद, लेनिवादको तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार रहनुभएको बालेन शाहको विषयमा दिनुभएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएकोले सो विषयमा आधार कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ ।’ स्थापितले प्रतिस्पर्धी शाहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भन्दै आपत्तिजनक टिप्पणी गरेका थिए ।

यसअघि काठमाडौँको नेशनल कलेजसहित विभिन्न सार्वजनिक कार्यक्रममा मेयरका उम्मेदवार स्थापितले दिएको अभिव्यक्तिले आचारसंहिता उल्लङ्घन गरेको उजुरी आएको भन्दै निर्वाचनले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

स्थापितले त्यसको जवाफ बिहीबार बुझाएका थिए । जवाफमा उनले आफूले आचारसंहिता उल्लङ्घन नगरेको दाबी गरेका थिए । स्थापितले आफ्ना प्रस्ट अभिव्यक्तिले कसैको चरित्र हत्या भएको र निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्न नमिल्नेसमेत दाबी गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *