काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रम्डलबीच भेटवार्ता भएको छ ।
सोमबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको भेटमा मन्त्री बडू र राजदूत ड्रम्डलबीच नेपाल र नर्वेको मैत्रीपूर्ण सम्बन्धलगायतका विषयमा छलफल भएको छ ।
भेटमा मन्त्री बडूले नेपालमा लोकतन्त्रको सुदृढीकरण, सुशासन र न्यायमा पहुँच अभिवृद्धि, नवीकरणीय ऊर्जालगायत विभिन्न क्षेत्रमा नर्वेले गरिरहेको सहयोगका लागि धन्यवाद दिए ।
उनले न्यायमा नागरिकको सहज पहुँचका लागि संविधानसभाबाट बनेको नयाँ संविधानले प्रत्येक स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरेको सन्दर्भ उल्लेख गर्दै यसको प्रभावकारिता बृद्धि गर्न सरकारले काम गरिरहेको बताए ।
मन्त्रि बडूले सरल, सहज, छिटो र गुणस्तरीय रुपमा न्याय सम्पादनका लागि सहकार्यका नयाँ क्षेत्र पहिचान गरेर सँगै काम गर्न सकिने बताए ।
जवाफमा नेपालका लागि नर्वेका राजदूत ड्रम्डलले सबै नागरिकको न्यायमा सहज पहुँच, लोकतन्त्र र सुशासन नेपाल र नर्वेका समान प्राथमिकताका विषय भएकोले यस क्षेत्रमा सहकार्य गर्न आफूहरु तयार रहेको बताइन् ।
राजदूत ड्रम्डलले विगतदेखि नै शिक्षा, स्वच्छ ऊर्जा, जलविद्युत, नेतृत्व विकास, सीमान्तकृत वर्गको न्यायमा पहुँच अभिवृद्धि गर्ने लगायतका क्षेत्रमा नर्वे सरकारले विभिन्न कार्यक्रम गरिरहेको र आगामी दिनमा सहयोगको क्षेत्र बढाएर सहकार्य गर्न तयार रहेको बताइन् ।




