ताजा समाचार

राष्ट्रपति भण्डारी आज बंगलादेश भ्रमण जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बंगलादेश जाने भएकी छन्। बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहकाक अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ जान लागेकी हुन् ।

राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजबाट ढाका प्रस्थान गर्ने कार्यक्रम छ।
राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिका छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सञ्चार विज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा। हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र राष्ट्रपतिका स्वकीय सचिवालयका प्रमुख डा भेषराज अधिकारी रहने छन । यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका कर्मचारी समेत गरी ५४ जना भ्रमण दलमा छन । भ्रमण दलमा कलाकार अशोकुमार राईको नेतृत्वमा सांस्कृतिक कलाकर्मीको १९ सदस्यीय टोली तथा तीन सञ्चारकर्मी रहने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *