काठमाडौं । लामो समययताको विवाद मिलाउँदै नेकपाले एकता महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
स्थायी कमिटीको बैठकमा नेता माधवकुमार नेपाल पक्षले एक व्यक्ति एक पदको मुद्दा उठाए पनि अध्यक्षद्वयको प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो ।
असार १० गते सुरु भएको बैठक आज एकता र समझदारी कायम गर्दै सकिएको छ । महाधिवेशनबारे थप छलफल गर्न नेकपाले केन्द्रीय समिति बैठक कात्तिक १५ गते बोलाएको छ ।
महाधिवेशनको तयारीबारे कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समितिमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
बैठकले गरेको १५ निर्णय
१. अध्यक्षद्वयले तयार पारेको कार्यसूची पारीत,
२. स्थायी कमिटीका सदस्यहरुले दिएको सुझावलाई सम्बोधन गर्ने,
३. पार्टीलाई सुदृढ ढंगले अघि बढाउने,
४. पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्ने,
५. विगतमा भएका निर्णयहरुलाई कार्यान्वयनमा लैजाने,
६. अध्यक्षद्वयको कार्यविभाजन । जसमा पार्टीको कार्यकारी अध्यक्षको भूमिका प्रचण्डलाई र सरकारको पुरै कार्यकाल केपी ओलीले गर्ने,
७. सरकारको दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर पार्टीको मार्गदर्शनमा रही सरकार अघि बढनुपर्ने,
८. महत्वपूर्ण कुराहरुको निर्णय गर्दा सरकारले पार्टीमा छलफल गर्नुपर्ने, दुई अध्यक्षबीच सहमतिमा गर्ने,
९. एकताको महाधिवेशन चैत्र २५ देखी ३० सम्म काठमाडौँमा गर्ने,
१०. कार्तिक १५–१७ सम्म महाधिवेशनको तयारी गर्न केन्द्रीय कमिटीको बैठक बस्ने,
११. लिम्पियाधुरा, लिपुलेक तथा कालापानीसहितका नेपालको भूमि र्फिता गराउने सवालमा दृढताका साथ सरकारलाई सहयोग गर्ने,
१२. नेपाली भूमिबाट भारतीय सेना हटाउन राजनीतिक तथा कुटनैतिक पहल गर्ने,
१३. कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी र व्यवस्थित भुमिका निर्वाह गर्ने,
१४. एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने, झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलको सुझावलाई विशेष ध्यान दिने,
१५. पार्टीभित्रका सैद्धान्तिक बहसलाई महाधिवेशनमा लगि समाधान गर्ने ।




