काठमाडौं।नुवाकोटकी रुक्मिणी सेढाईँ व्यवसाय, राजनीति र समाजसेवामा एकसाथ क्रियाशील छिन् । अवसर पाउँँदा काम गरेर देखाउने योग्यता उनको विगत र वर्तमानले पुष्टि गरेको छ । ३२ वर्ष राजनीति र २५ वर्ष उनले व्यवसायमा बिताइसकेकी छन् ।
तीन दशकभन्दा बढी समय नेपाली कांग्रेसका लागि योगदान गरिसके पनि उनले अहिलेसम्म कुनै लाभ लिएकी छैनन् । राजनीति र व्यवसाय एक आपसमा अन्तरसम्बन्धित भएको उनको बुझाइ छ । भन्छिन्, ‘राजनीतिले व्यापार व्यवसाय र व्यापार व्यवसायले राजनीतिलाई सपोर्ट गर्छ ।’ उनी ७७ जिल्लामै राजनीति, व्यापार व्यवसाय र समाजसेवामार्फत परिचित छन् ।
नुवाकोट क्षेत्र नम्बर २ लाई राजनीतिक धरातल बनाएर अघि बढेकी उनी विदुर नगरपालिका निवासी हुन । नेताहरूको चकडीमा भन्दा पार्टी संगठनमा रमाउने सेढाईँ पार्टीभित्र शुद्धीकरण र सुदृढीकरण हुनुपर्ने मत राख्छिन् । गुट–उपगुटभन्दा माथि उठेर पार्टी संगठनमा लाग्नुपर्ने उनको मत छ । दूरदर्शी सोचका साथ अघि बढे एक दिन गन्तव्यमा पुगिने उनको अनुभव छ ।
कांग्रेसभित्र मौलाएको गुट–उपगुटको राजनीतिक छत्रछायाँबाट पार्टीका नेता तथा कार्यकर्ता टढा रहनुपर्ने उनको जोड छ । एकताको स्वरसहित संगठन निर्माणको अभियानमा जनताको घरदैलोमा पुग्न सकिएमात्र कांग्रेसका लागि आगामी निर्वाचन परिणाममुखी हुने उनी बताउँछिन् ।
महिलाहरूको राजनीतिमा पहुँच अभिवृद्ध हुँदै गएकोमा भने उनी निकै हर्षित छिन् । एक महिलाले अर्को महिलाको क्षमता अभिवृद्धि र राजनीतिक पहुँच स्थापित गर्न कन्जुस्याइँ गर्न नहुने उनको भनाइ छ । आन्तरिक निर्वाचनमा एउटै टिमभित्र बसेर महिलाले महिलालाई हराउने प्रवृत्तिको निरुत्साहित हुनुपर्ने उनको जोड छ ।
सेढाईँ पार्टीले दिएको जुनसुकै जिम्मेवारी निर्वाह गर्न आफू तयार रहेको बताउँछिन् । ‘पार्टीले जिम्मेवारी दिएपछि हट्दिनँ,’ उनी भन्छिन्, ‘जस्तोसुकै जिम्मेवारी निर्वाह गर्न सक्षम छु ।’ आगामी निर्वाचनमा आफ्नो शसक्त दाबी रहने उनले बताइन् । व्यावसायिक क्षेत्रका दर्जनौ संस्थामा प्रतिपक्षी संगठनका प्रतिनिधिसँग चुनाव लडेको अनुभव आफूसँग रहेको उनले बताइन् ।
राजनीतिक यात्रा
२०४६ सालदेखि नेपाल विद्यार्थी संघको पृष्ठभूमिबाट राजनीतिमा सक्रिय सेढाईँको त्याग, संघर्ष र निष्ठाले उनको राजनीतिक जीवन थप ओजिलो बनेको छ । च्वाडी उच्च माध्यमिक विद्यालयको इकाई सभापतिको जिम्मेवारीबाट सुरु भएको उनको राजनीतिक यात्रा कांग्रेस महासमिति सदस्यसम्म पुगेको छ । उनको अविराम राजनीतिक यात्रा पार्टीप्रतिको निःस्वार्थ लगाव, कार्यकर्ता पंक्तिको विश्वासको उपज हो ।
उनले भ्रातृ, शुभेच्छुक तथा पार्टीका सबै निकायमा रहेर काम गर्ने अवसर पाइन् । २०४६ देखि २०५३ सम्म नेविसंघमा अवद्ध भएर राजनीतिक गतिविधि अघि बढाइन् । च्वाडी उमाविको इकाई सभापति, नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको नेविसंघ क्याम्पस इकाई समितिको उपसभापति, पद्यकन्या क्याम्समा सक्रिय राजनीति गरिन् ।
२०७२ मा नेपाल महिला संघ र २०७३ मा नेपाल तरुण दल नुवाकोटको सदस्यको जिम्मेवारी निर्वाह गरिन् । २०६२÷०६३ सालको जनआन्दोलनमा गोंगबु वडा नम्बर ७ को नेतृत्व गरिन् । २०७० सालदेखि ०७८ सालसम्म भ्रातृ तथा शुभेच्छुक संस्था र पार्टी राजनीतिमै उनले समय खर्चिन् । १४औं महाधिवेशनमा कांग्रेस महाधिवेशन निर्वाचित भएकी उनी हाल महासमिति सलस्यको जिम्मेवारीमा छन् ।
व्यावसायिक यात्रा
समाजमा बहुआयमिक पहिचान बनाएकी सेढाईँ सफल महिला उद्यमी पनि हुन् । २०५३ सालमा गोंगबुबाट कस्मेटिक्स व्यवसाय सुरु गरेकी सेढाईंले २०६० सालसम्म सोही व्यवसायलाई निरन्तरता दिइन । त्यसपछि उनी रेडिमेडको लुगा थोक उद्यमी बनिन । काठमाडौंको महाबौद्धमा व्यापार व्यवसाय सुरु गरिन् । सेढाईँले २०६४ सालमा छोराको नाममा व्यापारिक कम्पनीको नामाकरण गरी विवेक इन्टरप्राइजेजको स्थापना गरिन् । २०७५ सालदेखि बिबेक इन्टरप्राइजेजमार्फत भारत, चीनबाट रेडिमेड वस्तुहरू आयात थालिन् ।
व्यापारमा जम्दै गएकी उनी २०६३ सालदेखि नेपाल व्यापर संघमा अवद्ध भएर सक्रिय रूपमा अघि बढिन् । त्यसको फलस्वरूप २०६४ सालमा नेपाल व्यापार संघको कार्यसमितिमा विजयी भइन । २०६४ चाहना व्यापार संघ, महाबौद्धको संस्थापक सदस्य, २०६८ सालमा नेपाल व्यापार संघको आजीवन सदस्य, २०७० सालमा चाहना व्यापार संघको आजीवन सदस्य बनिन् । २०६४–२०६८ विभिन्न व्यापार संघमा निरन्तर काम गरेकी सेढाईँले चाहना व्यापार संघको सदस्य, नेपाल ब्यापार संघ सचिव, चाहना व्यापार संघको सचिवको जिम्मेवारीमा रहिन । सेढाईँ २०७३ सालमा नेपाल राष्ट्रिय व्यावसायी महासंघ, काठमाडौंको प्रथम महिला सचिव, महासंघको उपाध्यक्ष र महासंघकै महिला विभाग प्रमुख बनिन् । हाल उनी चाहना व्यापार संघ, महाबौद्धको अध्यक्ष, नेपाल व्यापार संघ उपाध्यक्ष, नेपाल व्यापार संघ महिला विभाग प्रमुख छिन् ।
सामाजिक, धार्मिक एवं शैक्षिक क्षेत्रमा उत्तिकै क्रियाशील
सेढाईँको सामाजिक, धार्मिक एवं शैक्षिक क्षेत्रमा पनि उत्तिकै योगदान छ । पद्यकन्या क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन पूरा गरेकी सेढाईँले शैक्षिक क्षेत्रको उन्नयनमा ठूलो भूमिका खेल्दै आएकी छन् । उनले नुवाकोटका दर्जनौ विद्यालयमा न्यानो कपडा, विद्यालय पोसाक, स्यानिटरी प्याड, मास्क र स्यानिटाइजर वितरण गर्दै आएकी छन् । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बटारमा अक्षय कोषको स्थापना गरेकी छिन् । हुम्ला, जुम्ला, डोल्पालगायतका जिल्लाका विपन्न परवारका बालबालिकाहरूको शिक्षा दिक्षामा पनि उनले योगदान गर्दै आएकी छिन् ।
उनले नुवाकोटको भैरवी मन्दिरमा भजन वाद्ययन्त्र तथा कम्बल उपलब्ध गराउनुका साथै किरियापुत्री भवनमा आवश्यक मण्डी, कसौडी, आरीलगायतका सामग्री उपलब्ध र अक्षयकोष स्थापना गरेकी छन् । गोंगबुको महादेवटार हाइटमा सन्तोषी माता मन्दिर निर्माणमा विशेष योगदान गरेकी छन् । उनले जनजागृति कल्याण आश्रममा कोरोना महामारीमा खाद्य तथा स्वास्थ्य सामग्री वितरण गरिसकेकी छन् ।
सेढाईले नुवाकोट जिल्लामा मात्र नभई विभिन्न जिल्लामा निःशुल्क अपांग शिविर सञ्चालन गरेकी छन् । उनले हंगेरीबाट डाक्टर ल्याएर मोरङ र सुनसरीमा डेढ सयभन्दा बढीलाई कृत्रिम खुट्टा निःशुल्क वितरण गरेकी थिइन् । जिज्ञासा जाग्न सक्छ,कहाँबाट प्रेरित भएर सेढाईँले आफ्नो खर्चमा अपांग शिविर सञ्चालन गरी कृत्रिम खुट्टा निःशुल्क वितरण गरिन ? सेढाईँ दुर्घटनमा परेर करिव ६ महिना बेड रेस्टामा बसिन र खुट्टा भचिएका कारण उनी बैशाखीको साहरामा हिडडुल गरिन । त्यस बेला उनले खुट्टाको महत्व कति हुन्छ भन्ने बुझिन । र,खुट्टा नचल्दाको पीडाको अनुभव गरिन । त्यसपछि उनमा खुट्टा नभएका मानिसप्रति दया जागेर आयो । जसका कारण उनले अपांग शिविर सञ्चालन गरी कृत्रिम खुट्टा निःशुल्क वितरण गरेको बताइन ।




