काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्र लामो समयदेखि चलिरहेको आन्तरिक असन्तुष्टि अन्ततः विभाजनमा परिणत भएको छ। पूर्व महासचिव घनश्याम भुसाल नेतृत्वको समूहले नयाँ नाम र चिन्हसहित निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दर्ता गरेको छ।
भुसाल समूहले आइतबार निर्वाचन आयोगमा प्रस्तुत गरेको निवेदनअनुसार नयाँ दलको नाम “नेपाल कम्युनिष्ट पार्टी (वामपन्थी केन्द्र)” रहनेछ भने चुनाव चिह्न ‘सूर्यमुखी फूल’ प्रस्ताव गरिएको छ। पार्टीले २६ सदस्यीय केन्द्रीय समिति गठन गर्ने प्रस्ताव पनि गरेको छ, जसमा देशका विभिन्न जिल्ला र जातीय क्षेत्रका प्रतिनिधि समावेश गरिएका छन्।
पार्टीको संयोजकमा राजकुमार कक्षपती (प्यूठान) र सह–संयोजकमा नन्दलाल बञ्जाडे (रुपन्देही) प्रस्तावित छन्। केन्द्रीय सदस्यहरूमा सुस्मा राई (भोजपुर), योगेन्द्र बस्नेत (ओखलढुंगा), निलम ढुंगेल (मोरङ), मुकुन्दबहादुर रोका (प्यूठान), लोककृष्ण दाहाल (भक्तपुर), समीर गौतम (गुल्मी), नविनकुमार कक्षपती (प्यूठान), मिरा श्रेष्ठ (रुपन्देही), रेशा दुलाल (ललितपुर) लगायतका २६ जना छन्।
यसअघि भुसाल समूहले नेकपा (एकीकृत समाजवादी)कै नाम, झण्डा र चिन्हसहित पार्टी पुनर्गठन गर्ने योजना बनाएको थियो। तर अन्ततः समूहले फरक नाम र प्रतीकमार्फत नयाँ राजनीतिक यात्रा सुरु गर्ने निर्णय गरेको छ।
राजनीतिक विश्लेषकहरूको बुझाइमा, भुसालको यो कदम केवल संगठनात्मक असन्तुष्टि होइन, वामपन्थी आन्दोलनमा वैचारिक स्पष्टता खोज्ने प्रयास पनि हो। भुसालले बारम्बार पार्टीभित्रको “व्यक्तिवाद र अवसरवाद” विरुद्ध आलोचना गर्दै आएका थिए। तर आलोचकहरू भने यो विभाजनले वामपन्थी शक्तिलाई अझै टुक्रा–टुक्रा पार्ने र आगामी निर्वाचनमा वाम मतको विखण्डन बढाउने चेतावनी दिएका छन्।
घनश्याम भुसाल समूहले भने आफ्नो दल “सिद्धान्तमा आधारित, लोकतान्त्रिक अभ्यासमा दृढ र जनताको संगठनमा जरा गाड्ने नयाँ वाम शक्ति” हुने दाबी गरेको छ। अब निर्वाचन आयोगको निर्णयपछि मात्रै नयाँ पार्टीको आधिकारिक दर्ता टुंगो लाग्नेछ। नेपालको वाम राजनीति फेरि एकपटक नयाँ मोडमा प्रवेश गर्न लागेको विश्लेषकहरूको निष्कर्ष छ — तर प्रश्न उस्तै छ, नयाँ वाम दलले पुरानाको विकल्प दिन सक्ला त ?




