देश

प्रधानमन्त्री कार्की र ११ दलबीच निर्वाचन केन्द्रित संवाद, राजनीतिक सहमतिको खोज सुरु

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठनपछिको पहिलो राजनीतिक संवाद सुरु गरेकी छन्। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित छलफलमा ११ राजनीतिक दलका शीर्ष नेता सहभागी भएका छन्।

बैठक आगामी प्रतिनिधिसभा निर्वाचन, राजनीतिक स्थिरता र समसामयिक अवस्थाबारे केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्कीले सबै दलसँग समन्वय गरी सहमतिको वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

सचिवालयका अनुसार छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी भए।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र जनमत पार्टीबाट चन्दनकुमार सिंह पनि उपस्थित छन् ।

नेकपा (एकीकृत समाजवादी) बाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपमहासचिव प्रकाश ज्वाला पनि संवादमा सहभागी भए। प्रधानमन्त्री कार्कीले छलफलको प्रारम्भमा सबै दलहरूको सुझाव सुन्ने र निर्वाचन तयारीमा देखिएका चुनौतीहरू समाधान गर्न साझा रणनीति बनाउने उद्देश्य रहेको बताइन्।

बैठकमा सहभागी केही नेताहरूले ‘जेनजी आन्दोलन’पछि बढेको अविश्वास र राजनीतिक विभाजन अन्त्य गर्न प्रधानमन्त्रीको यो पहल सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार, प्रधानमन्त्री कार्कीको यो संवाद शृङ्खला आगामी निर्वाचनको दिशानिर्देशन मात्र होइन, सरकार र दलहरूबीचको संवादहीनता तोड्ने प्रयासका रूपमा पनि महत्वपूर्ण छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *