काठमाडौं। सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध जेनजी पुस्ता देशव्यापी आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजेपछि बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
बैठकमा आन्दोलनले सिर्जना गरेको तात्कालिक परिस्थितिलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने सरकारका निकट स्रोतले जनाएको छ। जेनजी पुस्ताको विरोधले काठमाडौंदेखि प्रदेश शहरसम्म तनाव बढिरहेको बेला मन्त्रिपरिषद् बैठकलाई निर्णायक मानिएको छ।
यसैबीच, नेपाली कांग्रेसले पनि सामाजिक सञ्जाल बन्द गर्ने निर्णय खारेज गर्न सरकारमाथि दबाब बढाइरहेको छ। पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग भेटेर निर्णय फिर्ता गर्नुपर्ने धारणा राख्ने तयारी गरेको उनका स्वकीय सचिवले जनाएका छन्।
विश्लेषकहरूले सरकारको निर्णय र त्यसविरुद्ध देखिएको जनआक्रोशबीचको सम्बन्धलाई राजनीतिक संवेदनशील मोडमा पुगेको टिप्पणी गरेका छन्। आजको मन्त्रिपरिषद् बैठकले आन्दोलन शान्त पार्ने पहल गर्छ वा झन् विवाद बढाउँछ भन्नेमा सबैको चासोका साथ हेरेका छन् ।




