काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणलाई राजनीतिक प्रतिशोधका रूपमा चित्रित गर्ने प्रयासलाई अस्वीकार गर्दै ती आरोपहरूलाई “जबरजस्ती सिर्जना गरिएको गलत भाष्य” भनेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले पूर्वमन्त्री, सांसद, बहालवाला मेयरसहित दर्जनौँ व्यक्तिहरू हाल थुनामा रहेको स्मरण गराए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राज्यद्वारा राजनीतिक प्रतिशोध भएको भन्ने दाबीको प्रसंग उठाउँदै ओलीले प्रश्न गरे— “यदि एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अरु सबै व्यक्तिमाथि के भएको हो? अदालतले सबैलाई प्रतिशोधकै आधारमा थुनामा राखेको हो?”
प्रधानमन्त्री ओलीले कानून प्रक्रियाबाट होइन, भिडको दबाबमार्फत अभियोगबाट उम्कन खोज्ने प्रवृत्तिमाथि कडा आपत्ति जनाए। उनले भने, “अर्बौँ रुपैयाँको अपचलनमा मुछिएका सयौँ व्यक्तिमाथि अदालतले कारबाही गरिरहेको छ। तर, केही व्यक्तिलाई मात्र राजनीतिक प्रतिशोध भएको भनेर जनभावना भड्काउने प्रयास दया लाग्दो र अचम्मको दुवै हो।” “अदालतले थुनामा पठाएका कुनै एक व्यक्तिलाई मात्र प्रतिशोधको सिकार भएको भन्ने भाष्य बनाउन खोज्नु सत्यको अपमान हो,” उनले जोड दिए।




