काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लागेको आरोप राजनीतिक प्रतिशोध भएको भन्दै त्यसविरुद्धको हस्ताक्षर अभियानमा समर्थन जनाएका छन्।
रास्वपाको केन्द्रीय कार्यालय घण्टाघरमा आयोजित अभियानमा सहभागिता जनाउँदै राउतले रविमाथिको मुद्दा राजनीतिक प्रतिशोधप्रेरित भएको स्पष्ट संकेत गरेका छन्। “हामी न्यायका लागि लड्ने पार्टी हौँ,” राउतले हस्ताक्षरपछि सञ्चारकर्मीसँग भने, “राजनीतिक मान्यता फरक भए पनि अन्यायको विरुद्धमा हामी एकै ठाउँमा उभिन सक्छौं।”
राउतले नेपालमा अदालतको स्वतन्त्रता कमजोर हुँदै गएको जनभावना रहेको भन्दै चिन्ता पनि व्यक्त गरे।
उनले भने, “जहाँ लोकतन्त्र परिस्कृत हुन्छ, त्यहाँ अदालत स्वतन्त्र हुन्छ। तर नेपालमा अदालत कसरी प्रभावित हुन्छ भन्ने जनताले देखेकै छन्।”
उनका अनुसार रविमाथिको मुद्दालाई लिएर जनताले हस्ताक्षर गरिरहेका छन् भन्ने कुरा अदालतविरोधी गतिविधिको रुपमा होइन, न्यायको पक्षमा जनआवाजको प्रतिबिम्ब हो।
राउतले लोकतान्त्रिक मुल्य र मान्यतालाई बलियो बनाउने सन्दर्भमा राज्यको भूमिकामाथि पनि प्रश्न उठाए।
“कसैमाथि राज्यले प्रतिशोध लिएको महसुस हुनु आफैंमा लोकतन्त्रका लागि खतरा हो,” उनले भने, “यस्तो अवस्थाको अन्त्यका लागि हामी सबै मिलेर आवाज उठाउनु जरुरी छ।”
रास्वपाको हस्ताक्षर अभियानमा जनमत पार्टीको अध्यक्षस्तरबाट भएको सहभागिताले राजनीतिक वृत्तमा नयाँ सन्देश दिएको छ। यद्यपि राजनीतिक धारणा फरक भए पनि न्यायका साझा मूल्यमा आधारित सहकार्यको संकेत राउतको सहभागिताबाट देखिएको छ।




