काठमाडौं । उच्च अदालत पाटनले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको सदस्यमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले गरेको नियुक्ति बदरका लागि अन्तरिम आदेश जारी गरेको छ ।
मन्त्रिस्तरीय निर्णयले पुस २ गते मन्त्री खड्काले लक्ष्मण केसीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको थियो । सो नियुक्ति बदरका लागि अन्तरिम आदेश माग गर्दै जनार्दन जोशीले उच्च अदालत पाटनमा रिट दायर गर्दै केसी सञ्चालक अयोग्य रहेको दाबी गरेका थिए ।
शुक्रबार श्यामकुमार भट्टराई र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले रिटमा अन्तरिम आदेश जारी गरेको हो । यसअघि पुस १९ गते न्यायाधीश टिकाराम आचार्यको एकल इजलासले अन्तरिम आदेश जारी गर्ने सम्बन्धमा विपक्षीलाई समेत झिकाउने आदेश दिएको थियो ।