काठमाडौं।सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सोमबार सकिँदैछ । सुनुवाइका लागि बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।
सोमबार सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको सुनुवाइ गर्ने कार्यसूची छ। योसँगै प्रस्तावित ६ जनाकै सुनुवाइ सकिनेछ । सुनुवाई सकेपछि आजै नाम अनुमोदन गर्ने तयारी छ।
यसअघि आइतबार बसेको बैठकमा दुई जनाको संसदीय सुनुवाइ भएको थियो। बैठकमा महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए।
उनीहरूले संवैधानिक नैतिकताको सुदृढीकरण, अदालतको क्षेत्राधिकार पुनरवलोकन, पाँचौँ रणनीति योजनाको तर्जुमा र कार्यान्वयनको प्रभावकारिताका लागि प्रतिबद्धता व्यक्त गरेका थिए । यसअघि सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ भइसकेको छ।




