काठमाडौं । नेपाली महिला क्रिकेट टिमले आइतबार टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन विकेटले हराएको छ । मलेसियाको बाँगीस्थित बाईएसडी यूकेएम ओभलमा टस हारेर आइतबार ब्याटिङका लागि निम्त्याइएको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०९ रन बनाएको थियो ।
जितसँगै नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको छ । ११० रनको लक्ष्य नेपालले १९.२ ओभरमा सात विकेट गुमाएर पूरा गरेको थियो ।
मलेसिया भ्रमणमा रहेको नेपाल पहिलो खेलमा पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेल सात विकेटले जित्न सफल नेपालले तेस्रो खेल २७ रनले जितेको थियो । चौथो खेलमा नेपाल चार विकेटले पराजित भएपछि शृंखला २–२ को बराबरी भएको थियो ।
११० रनको लक्ष्य पूरा गर्नेक्रममा नेपालकी सीताले ३७ बलमा ६ चौकासहित ३४ रन बनाइन् । कप्तान रुविना क्षेत्रीले २३ रन बनाउँदा ज्योति पाण्डे ११ र अप्सरी बेगम १५ रनमा अविजित रहे । ओपनर कविता कुँवरले चार तथा इन्दु वर्मा र विन्दु रावलले समान पाँच रन बनाए । सम्झनाकुमारी खड्का शून्यमा पवेलियन फर्किइन् ।




