अर्थ

कोरलानाकाबाट २० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन

मुस्ताङ। मुस्ताङ भन्सार कार्यालयले पछिल्लो २० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि चीनबाट नेपाल भित्रिने मालवस्तुको रुट परिवर्तन भई कोरलानाका हुँदै पैठारी हुन थालेपछि मुस्ताङ भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो ।

बाढीपछि अधिकांश मालवस्तु, कन्टेनर तथा विद्युतीय सवारीसाधन रसुवागढी–केरुङ नाकाबाट रुट परिवर्तन गरी कोरलानाका हुँदै नेपाल भित्रिएका छन् ।

कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भदौ १० गतेपछि कोरलानाकाबाट भित्रिएका ५६४ कन्टेनर र एक हजार ९० वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको छ ।

केरुङ नाकाबाट रुट परिवर्तन भएका तथा कोरलानाकाबाट नियमित रूपमा पैठारी हुने मालवस्तुका कारण अहिलेसम्मकै छोटो समयमा ठूलो परिमाणमा राजस्व सङ्कलन भएको भन्सार प्रमुख चुडालले बताए ।

नेपाल–चीन व्यापारका प्रमुख नाका रसुवागढी र तातोपानी पूर्ण रूपमा बन्द रहेको अवस्थामा चीनबाट मालवस्तु पैठारी गर्ने एकमात्र वैकल्पिक मार्गका रूपमा कोरलानाका प्रयोग भइरहेको छ ।

रसुवागढी नाका पूर्ण रूपमा बन्द हुनुअघि चालु आर्थिक वर्षको साउन र भदौ ९ गतेसम्म मुस्ताङ भन्सार कार्यालयले जम्मा ५३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । उक्त ४० दिनको अवधिमा कोरलानाकाबाट भित्रिएका १६३ वटा विद्युतीय सवारीसाधन र १३३ वटा मालवस्तुका कन्टेनरको भन्सार जाँचपास भएको थियो ।

मुस्ताङ भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा गरी कुल तीन अर्ब सात करोड ९३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । जसमध्ये साउनमा २६ करोड ३९ लाख र भदौमा दुई अर्ब ८१ करोड ५४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार प्रमुख चुडालले जानकारी दिए ।

चालु आर्थिक वर्षको साउनमा कोरलानाका हुँदै १०० वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिँदा १७ करोड ३४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । भदौमा भने एक हजार २५३ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिँदा एक अर्ब ९३ करोड ९७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

यस्तै, साउनमा ५७ र भदौमा ६९७ वटा मालवस्तुका कन्टेनर कोरलानाका हुँदै नेपाल भित्रिएका थिए ।

मुस्ताङ भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ को १२ महिनामा ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । सो वर्ष कोरलानाका हुँदै तीन हजार २२३ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *