जुम्ला । पातारासी गाउँपालिका–३ स्थित छुमचौरमा जेठमै मार्सीधान रोपाइँ सुरु गरिएको छ ।
चिसो मौसमका कारण असारमा रोपेको धान समयमै नपाक्ने भएकाले यहाँ परम्परागत रूपमा जेठमै धान रोप्ने अभ्यास रहँदै आएको हो ।
गाउँपालिकाको कृषि शाखाको आयोजनामा कृषि विकास कार्यालयका कर्मचारी तथा स्थानीयको सक्रियतामा छुमचौरको जिउलोमा धान महोत्सव आयोजना गरी रोपाइँ सुरु गरिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् ।
पछिल्लो समय बजारमा मार्सी चामलको माग उच्च रहे पनि उत्पादन घट्दै गएको भन्दै यसको संरक्षणका लागि सामूहिक रोपाइँको अभ्यास गरिएको प्रमुख प्रशासकीय अधिकृत हेम शर्मा चापागाईंले बताए ।
जिल्लामा कुल दुई हजार ८८८ हेक्टरमा धान खेती हुनेमध्ये एक हजार ६८ हेक्टर अर्थात् करिब ३७ प्रतिशत क्षेत्रफलमा रैथाने जुम्ली मार्सीधान उत्पादन हुने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए ।
गत कात्तिकदेखि फागुनसम्मको अवधिमा जिल्लाबाहिर करिब १७५ मेट्रिक टन मार्सी चामल बिक्री हुँदा किसानले झण्डै तीन करोड ५० लाख रुपैयाँ आम्दानी गरेको कार्यालयले जनाएको छ ।
परम्परागत खेतीमा रोग–कीराको समस्या बढ्दै गएपछि कृषि अनुसन्धान केन्द्रले चन्दननाथ–१ र चन्दननाथ–३ जातका धान सिफारिस गरेको छ । साथै, आगामी वर्ष मार्सी–१८, २० र २२ जातका धान पनि सिफारिस गर्ने तयारी भइरहेको कृषि विकास कार्यालयले जनाएको छ ।




