अर्थ

लगानी गर्न नसकेको पौने ८ खर्ब राष्ट्र बैंकमा थुप्रियो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न नसकेको झण्डै ८ खर्ब रुपैया नेपाल राष्ट्र बैंकमा थुप्रिएको छ । वित्तीय प्रणालीमा अधिक तरलता रहेपछि केन्द्रीय बैंकले पछिल्लो समय दैनिकजसो तरलता प्रशोचन गर्दै आएको छ । बैंकहरुले लगानी गर्न नसकेको रकम २.७५ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकमा राखिरहेका छन् ।

लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह सुस्त छ । यसैकारण तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटकपटक प्रणालीबाट पैसा तान्दै आएको छ । निक्षेप संकलन र स्थायी निक्षेप सुविधा (एसडीएफ) जस्ता वित्तीय उपकरण मार्फत विभिन्न अवधिको लागि राष्ट्र बैंकले बैंकहरुबाट पैसा तान्ने गर्छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको हालसम्म निक्षेप संकलन उपकरण मार्फत ६ खर्ब ६३ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता प्रशोचन गरेको छ । जसमध्ये ७४ अर्ब ५५ करोड परिपक्क हुन बाँकी छ । असोज २१ गते मात्र केन्द्रीय बैंकले ९० अर्ब बराबरको १२ दिने निक्षेप संकलन उपकरण जारी गरेकोमा ११ बैंक तथा वित्तीय संस्थाले १५ आवेदन मार्फत ७४ अर्ब ५५ करोड राखेका छन । जसको औसत ब्याजदर २.७४ प्रतिशत कायम भएको छ । यो रकम आगामी कात्तिक २ गते परिपक्क हुने छ । त्यस्तै आज पनि केन्द्रीय बैंकले ११ दिनको लागि २० अर्बको निक्षेप संकलन उपकरण जारी गरेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ब्याजदर करिडोरको तल्लो सीमा घटाएपछि बैंकहरुले निक्षेप संकलन उपकरणमा राख्ने ब्याजदर समेत घटेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरेसँगै सस्तिएको दरमा निक्षेप संकलन गर्न थालेको हो । गत असारसम्म बैंकहरुले न्यूनतम २.९९ प्रतिशतसम्म ब्याज पाउँदै आएका थिए । नयाँ आर्थिक वर्ष लागेपछि निक्षेप संकलन दर पनि घटेको हो ।

यसैबीच पछिल्लो समयमा जेनजी प्रर्दशन, बाढी, पहिरो लगायत तथा देशको राजनैतिक अवस्थाले पनिलगानीको वातावरण धुमिल बनेको छ । यसले आगामी दिनमा बित्तीय प्रणालीमा अधिक तरलताको अवस्था कायमै रहने देखिन्छ । गत आर्थिक वर्षको मध्यतिरबाट बैंकमा बढेको अधिक तरलता अहिले नेपाली बैंकिङ क्षेत्रकै समस्या बनिसकेको छ । बजारमा माग घट्दा र व्यवसायमा शिथिलता छाउँदा अपेक्षितरुपमा कर्जा प्रवाह गर्न बैंकहरुले सकिरहेका छैनन । जसले गर्दा बैंकहरुमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले निकै सकश परेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *