काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूलाई आवश्यक पर्ने गैर–कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताअनुसार, सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले अब ग्लोबल आइएमई बैंकमार्फत लेटर अफ क्रेडिट (एलसी), बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ लगायतका विविध गैर–कोषमा आधारित बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।
ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ र ‘२०२५’, साथै युरो मनीको ‘अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत नेपालकै उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ । बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सम्मानहरू पनि प्राप्त गर्दै आएको छ ।
मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरिसकेको ग्लोबल आइएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले हाल ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा दिँदै आएको छ ।
बैंकले नेपालभित्र मात्रै नभई संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आइरहेको छ ।
यसैबीच, सांग्रिला डेभलपमेन्ट बैंकले देशभर १०९ वटा शाखा र ३० वटा एटिएममार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।
यस समझदारीपछि दुवै बैंकका ग्राहकहरूलाई अझ सरल र प्रभावकारी बैंकिङ सेवा प्राप्त हुने विश्वास लिइएको छ ।




