अर्थ

बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बजारमा बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज फेरि २५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्न लागेको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २५ दिन अवधिका लागि ‘निक्षेप संकलन बोलकबोल’ उपकरण प्रयोग गरी उक्त रकम संकलन गर्न लागेको हो।

यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्। बोलकबोल ब्याजदरको आधारमा हुनेछ, र यसमा अनलाइनमार्फत मात्र सहभागी हुन सकिनेछ। राष्ट्र बैंकले साउन २८ गते मध्यान्ह ३ बजेसम्म बोलकबोलमा भाग लिन सकिने जनाएको छ।

बोलकबोल सम्बन्धी विवरण:
न्यूनतम बोलकबोल रकम: १० करोड रुपैयाँ
अधिकतम रकम: ५ अर्ब रुपैयाँ (यसलाई ५ करोडको भागमा विभाजन गरी निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने)

बोलकबोलमार्फत संकलन गरिने रकम ब्याजदरको आधारमा प्राथमिकता दिई बाँडफाँड गरिनेछ। सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने सहभागीलाई पहिलो प्राथमिकता दिइनेछ र त्यसअनुसार रकम बाँडफाँड गरिनेछ।

रकमको सावा तथा ब्याज भुक्तानी मिति भदौ २२ गते तोकिएको छ।

यसअघि राष्ट्र बैंकले साउन ४ गते ५० अर्ब, साउन ७ गते ८० अर्ब, साउन ११ गते ५० अर्ब, साउन १४ गते २५ अर्ब, साउन १८ गते पुन ५० अर्ब र साउन २१ गते ४० अर्ब रूपैयाँ तानेको थियो ।

यसरी, राष्ट्र बैंकले पछिल्ला दिनहरूमा क्रमिक रूपमा बैंकिङ प्रणालीमा रहेको अधिक तरलता सोस्ने रणनीति अपनाउँदै आएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *