काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले बुधबार सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो वर्षको तुलनामा १.०९ प्रतिशतले मात्र वृद्धि भएको हो।
अघिल्लो आवमा बैंकको नाफा ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ रहेको थियो। यस पटकको वृद्धि सीमित भए पनि बैंकको वितरणयोग्य नाफा भने उल्लेखनीय रूपमा बढेको देखिएको छ।
१४.११ प्रतिशत लाभांश दिन सक्ने क्षमता
बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ पुगेको छ। हाल बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ छ। यस आधारमा, बैंकले १४.११ प्रतिशत लाभांश वितरण गर्न सक्ने वित्तीय क्षमता बनाएको देखिन्छ। अघिल्लो वर्षको तुलनामा यो दर उल्लेखनीय रूपमा सुधारिएको हो।
ब्याज आम्दानी र सञ्चालन नाफा केही घट्यो
गत वर्ष बैंकले १६ अर्ब ७१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.८५ प्रतिशतले घटेको हो। यस्तै, सञ्चालन नाफा पनि ३.०१ प्रतिशतले घटेर ८ अर्ब ७७ करोड रुपैयाँ कायम भएको छ।
अन्य वित्तीय सूचकहरू
प्रतिशेयर आम्दानी (EPS): १६.२८ रुपैयाँ
प्रतिशेयर नेटवर्थ: १७७.६३ रुपैयाँ
जगेडा कोष (रिजर्भ): २४ अर्ब २१ करोड रुपैयाँ
खराब कर्जा (NPL): ४.८७ प्रतिशत
व्यवसायमा दोहोरो अंकको वृद्धि
बैंकको निक्षेप संकलन गत आवमा १२.९५ प्रतिशत ले वृद्धि भई ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। यस्तै, कर्जा प्रवाह पनि ११.४६ प्रतिशत ले बढेर ४ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ।



