
कञ्चनपुर। पुनर्वास नगरपालिका–३ की बसन्ती चन्दलाई घर खर्च चलाउन अब अरूको भर पर्नु पर्दैन। केक, पेष्टी र बदाम सेकको सफल व्यवसाय चलाएर उनी आत्मनिर्भर बनेकी छन्। मासिक ६० हजार रुपैयाँभन्दा बढीको कारोबार गर्ने बसन्तीले खर्च कटाएर ३० हजार रुपैयाँसम्म आम्दानी गरिरहेकी छन्।
विगतमा स्थानीय विद्यालयमा अध्यापन गराउँदै आएकी बसन्तीले कोरोना महामारीका कारण जागिर छोड्नुपरेको थियो। बेरोजगार भए पनि खाली बस्नुभन्दा केही उद्यम गर्ने सोच उनमा थियो, तर लगानीका लागि पर्याप्त रकम थिएन। त्यही बेला बजार क्षेत्रमा भर्खरै खुलेको सृजनशील बचत तथा ऋण सहकारीमा आबद्ध भएर उनले ऋण लिने निर्णय गरिन्।
ऋण लिने भए पनि कुन व्यवसाय गर्ने भन्ने अन्योल थियो। त्यही समयमा प्रविधिले उनलाई नयाँ बाटो देखायो। “इन्टरनेट चलाउँथेँ, विभिन्न व्यवसाय गरिरहेका व्यक्तिहरू र उनीहरूका कामहरू निकै ध्यान दिएर हेर्थें। केक, पेष्टी र बदाम सेक बनाउने काम सजिलो लाग्यो, त्यसैले यही व्यवसाय गर्ने निधो गरेँ,” बसन्तीले आफ्नो कथा सुनाइन्।
एक लाख रुपैयाँको लगानीबाट सुरु गरेको व्यवसायमा उनले हाल पाँच लाख रुपैयाँ बराबरको सामान थपिसकेकी छन्। युट्युबबाटै सीप सिकेर केक, पेष्टी र बदाम सेक बनाउने व्यवसाय सफलतापूर्वक चलाइरहेको उनले बताइन्। ग्राहकलाई गुणस्तरीय सामान दिन थालेपछि जन्मदिन र विभिन्न सङ्घसंस्थाका स्थापना दिवस जस्ता अवसरहरूमा धेरै माग आउन थालेको उनले उल्लेख गरिन्।
बेकरीका सामानबाहेक उनले गिफ्टका सामग्रीहरूको पनि कारोबार गरिरहेकी छन्। भविष्यका लागि बचत गर्न उनले मासिक आठ हजार रुपैयाँ सहकारीमा जम्मा गर्दै आएकी छन्। “घरको खर्च पसलकै कमाईले धानिएको छ। छोरीलाई पनि पसलकै आम्दानीबाट पढाउन थालेकी छु,” बसन्तीले खुसी व्यक्त गरिन्।