अर्थ

सिटिजन्स बैंकको साढे तीन करोड चोरी गर्ने नौ जना अभियुक्तलाई रिहा गर्न आदेश

काठमाडौं। एफवान सफ्टको सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खातामा रहेको साढे तीन करोड रूपैयाँभन्दा बढी रकम चोरी गर्ने ९ जनालाई धरौटीमा छाड्न आदलतले आदेश दिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले पक्राउ परेका सबै ९ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । साइबरको माध्यमबाट रकम ठगी गरेको आरोपमा सिरहाको गोलबजार नगरपालिका–१० का २० वर्षीय राहुल ठाकुर, सोही ठाउँका अर्का १९ वर्षीय पुरुषोत्तम साहलाई जनही ५ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

उदयपुरको बेलका–५ का २७ वर्षीय दीपक थापा मगरलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ । बेलका नगरपालिका–४ का २० वर्षीय कमल थापा मगरलाई भने २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ । सप्तरीका २१ वर्षीय कृष्ण रमण राउत, सप्तरीकै राजविराज नगरपालिका–७ का ३० वर्षीय सञ्जिवकुमार शर्मा, सुनसरीको धरान उपमहानगरपालिका–८ का २४ वर्षीय सन्देश राई र सुनसरीको देवानगञ्ज गाउँपालिका–५ का २२ वर्षीय सागर कुमार साह र ललितपुरकी ४० वर्षीया त्रिगुण रत्न बज्राचार्यलाई जनही १ लाख रुपैयाँ धरौटीमा छाड्न न्यायाधीश कार्कीले इजलासले आदेश दिएको छ।

सिटिजन्स बैंकको सफ्टवेयर एफवान सफ्टले नै निर्माण गरेको र एफवान सफ्टले नै सिटिजन्स बैंकको दरबारमार्गस्थित शाखामा खाता खोलेको थियो । सफ्टवेयर ह्याक गरेर एफवान सफ्टकै खाताबाट तीन करोड ५१ लाख ५० हजार ३७० रुपैयाँ चोरी भएको हो । सो प्रकरणमा २४ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा विद्युतीय ठगीको कसुरमा मुद्दा दायर भएको थियो । प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानबाट ह्याक गरिएको रकम उनीहरुको खातामा ट्रान्फर गरेर त्यहाँबाट विदेश लगिएको खुलेको थियो । ह्याकरको समूहले विदेशमा बसेर ह्याक गर्ने र नेपालीहरुलाई प्रयोग गरेर उक्त रकम विभिन्न माध्यबाट विदेश लाने गरेको अनुसन्धानले देखाएको छ । साइबर ब्यूरो स्रोतका अनुसार अनुसन्धानका क्रममा ह्याकमा युकेको ‘आईपी एड्रेस’ देखिएको छ । यद्यपि, ह्याकरको समूहले अन्य ठाउँहरूबाटै ह्याक गरेर ‘आईपी एड्रेस’ फरक ठाउँका राखेको हुनसक्ने आशंका पनि गरिएको छ । २४ जनाको खातामा रकम ट्रान्सफर गरेपछि त्यहाँबाट दोस्रो लेअरमा करिब ५ सय जनाको बैंक खाता प्रयोग गरिएको खुलेको छ । विभिन्न लेअरमा बसेर ह्याकरको समूहले नेपालीलाई प्रयोग गरेर रकम बाहिर लगेको भेटिएको छ ।

१ अक्टोबर २०२४ देखि ४ अक्टोबर २०२४ सम्म पटकपटक ह्याक गरेर एफ वान सफ्टको खाताको रकम निकालिएको थियो । पक्राउ परेकाहरूले आफ्नो खाता प्रयोग गरे वापत केही रकम बुझेको देखिएको साइबर ब्यूरोले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *