अर्थ

भित्र्याउने बेलाको मार्सी धानमा ‘ब्लाष्ट’ रोगको संक्रमण

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको मार्सीधानबालीमा ब्लाष्ट रोगको संक्रमण देखापरेको छ । भित्र्याउन लागेको याममा रोगले धानबालीलाई सखाप पारेपछि किसान चिन्तित बनेका छन् । स्थानीयवासी धनप्रसाद चौलागाईले ब्लाष्ट रोगको समस्याले धानलाई क्षति गरेको बताए ।

उनको खेतबाट करिब २२ क्विन्टल धान उत्पादन हुन्थ्यो । त्यही उत्पादनले वर्षभरि पुग्थ्यो । खेतमा पाकेको धानमा आगो लगाउनुपर्ने अवस्था आएको उनको भनाइ छ । तातोपानीको वडा नं ४, ५ र ६ मा मार्सीधान उत्पादन हुने फाँटमा बढी ब्लाष्ट रोगले धैरे क्षति गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए ।

आगामी कात्तिक महिनाको पहिलो सातादेखि धान भित्र्याउने जुम्ली किसान एक्कासी धानमा संक्रमण भएको नेक ब्लाष्ट (घाँटी मरुवा) रोगले तातोपानीको अनुमानित करिब ८० हेक्टर धान बालीमा क्षति गरेको उनले बताए । सबैभन्दा धेरै तातोपानी–५ स्थित लाम्रा, नगर, एैरेनी हाँक, हियाँखोलाका किसान बढी सो रोगबाट मारमा परेको स्थानीयवासी पूर्णप्रसाद चौलागाईको भनाइ छ ।

कार्यापालिकाको बैठकबाट पालिकाभित्रका किसानलाई उचित राहत प्रदान गरिने उपाध्यक्ष रेवती रावलले बताए । चन्दननाथ नगरपालिकाको–९ मा पनि उक्त रोगले धान बालीमा असर गरेको किसान बताउँछन् । जिल्लामा अहिले तीन हजार हेक्टर क्षेत्रफलमा मार्सी धानको खेती हुने गरेको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । पछिल्लो समयमा स्वदेश तथा विदेशबाट जुम्ली मार्सी धानको चामल अत्यधिकरूपमा माग हुने गरेको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सञ्चालन गरेको अग्र्यानिक पसलका सञ्चालक बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *