काठमाडौं।इटलीको मुख्य कृषि संघ कोल्डिरेटीले यस वर्ष गर्मीका कारण ६ बिलियन युरो (६.५ अर्ब अमेरिकी डलर)को नोक्सान हुने अनुमान गरेको छ ।
यो इटलीको इतिहासमा कृषि क्षेत्रका लागि कालो वर्षको रुपमा रहने उनीहरूको भनाइ छ । रिपोर्टका अनुसार इटलीले यस वर्ष हालसम्म ११ वटा मौसमजन्य विपद्का घटनाको सामना गरिसकेको छ ।
यो वर्ष इटालीमा इतिहासकै तेस्रो सबैभन्दा धेरै गर्मी भएको छ । तुलनात्मक रुपमा तापक्रम औसतभन्दा ०.७६ डिग्री सेल्सियले बढी छ ।
इटलीमा यस वर्ष तातो मौसमका कारण गहुँ उत्पादनमा १०, अंगुरमा १४, नासपातीमा ६३ प्रतिशत र महमा ७० प्रतिशत कम उत्पादन हुने बताइएको छ । सोमबारदेखि मध्य र दक्षिणमा गर्मीको अर्को लहर सुरु हुने अनुमान गरिएको छ ।
ती क्षेत्रमा गत साताभन्दा ४ डिग्री सेल्सियससम्म तापक्रम बढ्ने अनुमान गरिएको छ । यी क्षेत्रमा आगामी दिन उच्च तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।




