काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित समितिले प्रतिवेदन तयार पारेको छ ।
प्रारम्भिक प्रतिवेदनअनुसार शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तीलाई सहभागी गराएको पुष्टि हुने आधार समितिले भेटाउन सकेन । अर्थ मन्त्रालयको सिसिटीभी फुटेजको समेत अध्ययन गरेको समितिले यथेष्ट प्रमाण जुटाउन नसकेपछि शर्मामाथि लागेको आरोप पुष्टि समेत हुन नसक्ने देखिएको छ ।
समितिमा एमालेका सांसदहरुले भने फरक मत राखेका छन् । सहमति भएका विषयबाहेक फरक मतलाई समेत समेटेर प्रतिवेदन तयार भएको छ । जुन प्रतिवेदन शुक्रबार सभामुख अग्नि सापकोटालाई बुझाइनेछ ।
अर्थमन्त्रीमाथि लागेको आरोप पुष्टि हुन नसकेपछि जनार्दन शर्मा फेरी मन्त्रालय फर्किने सम्भावना बढेको छ । यसअघि माओवादी नेता वर्षमान पुनले समेत जनार्दन शर्मा फेरी अर्थमन्त्री बन्नसक्ने बताएका थिए । माओवादी केन्द्रको स्थायी कमिटिको बैठक बिहिबार बिहान बसेको थियो । बैठकमा अर्थमन्त्री नियुक्त गर्नेबारेमा समेत सामान्य छलफल भएको बताइएको छ ।




