काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले कुनै पनि इन्टरनेट सेवा प्रदायक कम्पनीले पोल भाडा सम्झौता नगरेको जनाएको छ । तोकिएको समय कात्तिक मसान्तसम्म कुनै पनि सेवा प्रदायक कम्पनी पोलभाडा सम्झौताका लागि नआएको प्राधिकरणले जनाएको छ ।
लामो समयको विवादपछि प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पोल भाडा सम्झौताका लागि कात्तिक मसान्तसम्मको समय दिइएको थियो । तोकिएको समयमा प्राधिकरणले भनेअनुरुप कुनै पनि सेवाप्रदायक कम्पनीले पोल भाडा सम्झौता गर्न नआएको प्राधिकरणको ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् ।
उनका अनुसार पोल भाडा सम्झौता नै नगरी केही कम्पनीले बक्यौता रकम खातामा जम्मा गरेको पाइएको छ । “दुई चारवटा कम्पनीले पोल भाडा सम्झौता नै नगरी हाम्रो खातामा पैसा जम्मा गरेको देखिएको छ, त्यसलाई हामीले मान्दैनौँ”, उनले भने, “हामीले उनीहरुको वास्तविक संरचना कति छ, ती कुराका आधारमा सम्झौता गरेपछि मात्र पैसा लिने हो । सम्झौता नै नगरी पैसा खातामा राखेर सेवाप्रदायक कम्पनी उम्किन खोजेको देखिन्छ, त्यसलाई हामीले मान्दैनौँ ।”
उनले पोल भाडा सम्झौताका लागि इन्टरनेट सेवा प्रदायक कम्पनीले बेवास्ता गरेपछि नियामक निकायका रुपमा रहेको विद्युत् प्राधिकरणसँग छलफल गरी निष्कर्ष निकालिने जानकारी दिएका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार डिसहोम, एनसेल, सिजी र केही मात्रामा नेपाल टेलिकमबाहेक अन्य सेवाप्रदायक कम्पनीले पोल भाडा रकम भुक्तानी गरेका छैनन् । अन्य कम्पनीको तुलनामा एनसेलले नियमित जस्तै रकम बुझाउने गरेको जनाइएको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनीका रुपमा दूरसञ्चार प्राधिकरणबाट १३३ वटा कम्पनीले इजाजत लिएका छन् ।




