अर्थ

जनकपुर जाँदै प्रधानमन्त्री ओली, देशकै ठूलो सबस्टेसन उदघाटन गर्ने, सिरहामा आमसभालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओली आज धनुषा जाँदैछन् । ढल्केबरमा बनेको देशकै सबैभन्दा ठूलो सबस्टेसनको उनले आज उदघाटन गर्दैछन् । त्यसका लागि उनी जनकपुर विमानस्थलमा ओर्लने छन् । प्रधानमन्त्रीले ढल्केबर सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

अहिले ढल्केबरमा एक सय ६० एमभीएका दुई र तीन सय १५ एमभीएको एक गरी ६ सय ३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ । कुल चार सय र दुई सय २० केभी क्षमताको सबस्टेशनमा तीन सय १५ एमभीए क्षमताका तीन वटा गरी नौ सय ४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब नौ सय मेगावाट विद्युतलाई प्रसारण गर्न सक्दछन् । सबस्टेशनमा जडान गरिएको तीन सय १५ एमभीएको थप पावर ट्रान्सफर्मरको गएको पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरिसकिएको छ ।

देशभित्र नै पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्केबर सबस्टेशन ठूलो हब बनेको छ । सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार भएको छ । भारतले तत्काल एक सय मेगावाट विद्युत दिने भएको छ । यो सबस्टेसनपछि नेपाललाई विद्युत आयात गर्न झन् सहज हुने भएको छ ।

प्रधानमन्त्री ओली ढल्केबर स्टेसनको उदघाटन गरेपछि सिरहा जाने भएका छन् । सत्तारुढ नेकपाले आयोजना गर्ने आमसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *