अर्थ

दशै तिहारका लागि एक करोडका खसीबोका विक्री गर्दै सहकारी

गलकोट । नेपालीको महान पर्व दसैँ तिहार नजिकिएसँगै च्याङ्ग्रा, खसी र बोकाको जोहो गर्न थालिएको छ । दसैँ तिहारमा मासुका लागि प्रयोग गरिने च्याङ्ग्राको कम आयात र मूल्यमा वृद्धि भएका कारण नागरिकको ध्यान खसी बोकामा जान थालेको छ ।

बागलुङको एक गाउँमा दसैँ र तिहारका लागि बिक्रीका लागि एक हजार खसी बोका तयार गरिएका छन् । नजिकिँदै गरेको दसैँ तिहारलाई लक्षित गरी काठेखोला गाउँपालिका–४ तंग्रामका महिलाहरुले एक हजार खसी बोका बिक्रीका लागि तयार गरेका हुन् । तंग्रामका दुई सहकारीमा आवद्ध महिलाले खसी तथा बोका बिक्रीबाट वार्षिक रु दुई करोड भित्र्याउँदै आएका छन् । जसमध्ये दसैँ तिहारमा मात्रै करिब रु एक करोडका खसीबोको कारोवार गर्दै आएका छन् ।

तंग्राममा सञ्चालित सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध महिलाले सहकारीमार्फत विगत छ वर्षदेखि बाख्रापालन व्यवसाय गर्दै आएका छन् ।

दसैँ तिहारका लागि सप्तरङ्गी सहकारीले ३ सय ९५ र वसन्त सहकारीले ६ सय खसीबोका गरी जम्मा ९ सय ९५ खसीबोका बिक्रीका लागि तयार भएका जनाएका छन् । दसैँ तिहार नजिकिएसँगै अहिले बागलुङ बजारमा धमाधम खसीबोका बिक्रीका लागि पठाउन थालिएको वसन्त सहकारी संस्थाका प्रबन्धक हेमा विकले जानकारी दिइन् । “वर्षभरीमा हाम्रो खसीबोकाको बढी व्यापार दसैँ तिहारमा हुन्छ”, विकले भनिन्, “गाउँमा उत्पादन भएका खसीबोका सहकारीमार्फत बजारीकरण गरिन्छ, कूल खसीबोकाको कारोवारमध्ये आधा कारोवार दसैँ तिहार लक्षित हुने गरेको छ ।”

दुई सहकारीमा आबद्ध महिला सेयर सदस्यले उत्पादन गरेका खसीबोका सहकारीमार्फत बागलुङ बजारमा बिक्री गरिँदै आएको सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीका प्रबन्धक मनकुमारी पुनले जानकारी दिइन् । दुवै सहकारीले आफ्ना सदस्यहरुको खसीबोका प्रतिकेजी रु ४ सय ५० मा सङ्कलन गर्ने र रु ४ सय ५५ मा बिक्री गर्ने गरेका छन् । प्रतिकिलो जम्मा रु पाँच बढी लिएर सदस्यहरुका उत्पादन सङ्कलन गरी बजारमा लगेर बिक्री वितरणको व्यवस्था गरिएका कारण उत्पादन गर्ने महिलालाई सहज भएको छ । सहकारीका सेयर सदस्यमध्ये एक वर्षमा पाँच देखि ३० सम्म खसीबोका उत्पादन गर्दै आएका सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीका प्रबन्धक पुनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *