काठमाडौं । मकवानपुरकोे कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर जलाशयमा पानीको सतह भरिन ५ मिटर बाँकी रहेको छ । पानीको सतह हाल १ हजार ५ सय २५ दशमलव २९ मिटरमाथि पुगेको छ । लगातार वर्षा भएपछि जलाशयमा पानी भरिएको हो ।
जलाधार क्षेत्रमा भारी पानी परेपछि एक दिनमा नै पानीको सतह १ मिटर २९ सेन्टिमिटर बढेको कुलेखानी आयोजनाका प्रमुख धिरेन्द्र चौधरीले बताए । साउनमा आयोजना धेरै समय चलाएकोले घटेको पानीको सतह असोज १ गतेदेखि नै बढ्न थालेको हो । गत वर्ष असोजमा जलाशयमा पानीको सतह १ हजार ५ सय २७ दशमलव ७० मिटर पुगेको थियो । जलाशयमा १ हजार ५ सय ३० मिटरसम्मको तहमा पानी भर्न सकिन्छ ।
मकवानपुर उत्तरीक्षेत्रस्थित देशकै ‘पावर ब्याकअप’को रुपमा परिचित कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर तालमा मंगलबारदेखि भारी वर्षा भएका कारण पानीको सतह बढेको कुलेखानी जलविद्युत प्रथम ‘ए’ का आयोजना चौधरीले बताए ।
गत शनिबार दिउँसो ४ बजे १ हजार ५ सय १८ दशमलव ५४ मिटर रहेको ईन्द्रसरोवर जलाशयमा पानीको सतह बढेर हाल १ हजार ५ सय २४ मिटर पुगेको उनले बताए । कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटरसम्म पानी भरिन सक्छ । कुलेखानी ड्याममा १ हजार ५ सय २७ मिटरसम्म पानीको सतह पुग्नेबित्तिकै कुलेखानीको ढोकाहरु खोलिने उनले बताए ।
पानीको सतह अब ३ मिटर बढ्यो भने ड्यामको ढोकाहरु खोलिने छ । लगातार वर्षाका कारण ७ किलोमिटर लम्बाई भएको कुलेखानी जलाशयको बढेको हो । उनले जलसतह बढेपछि विद्युत पनि बढी उत्पादन हुने बताए ।
कुलेखानी प्रथम, कुलेखानी दोस्रो र कुलेखानी तेस्रो तीन वटै आयोजना निरन्तर चलेकोले गत वर्षको जति पानीको सतह नबढेको उहाँले बताए । कुलेखानी प्रथममा ६० मेगावाट, र दोस्रोमा ३२ मेगावाट र कुलेखानी तेस्रोमा १४ मेगावाट गरी १ सय १४ मेगावाट जलविद्युत उत्पादन क्षमता छ ।




