विचार

खुला दिसापिसाबमुक्त राष्ट्र : कागजमै सीमित

काठमाडौं । सर्वसाधारणलाई घरबाट निस्किएपछि सबैभन्दा बढी दुईटा कुराले सताउँछ । पहिलो, बाटो कहाँबाट काट्ने रु दोस्रो, दिसापिसाब लाग्यो भने कहाँ जाने ? काठमाडौं उपत्यकामा नजिक–नजिक आकाशेपुल छैन । भएका जेब्राक्रसहरू पनि मेटिसकेका छन् । सार्वजनिक शौचालय पनि पर्याप्त छैन । राजधानीमा जति सार्वजनिक शौचालय छन्, ती छिर्न सक्ने अवस्थाका छैन ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले निर्वाचित भएर आउनेबित्तिकै सार्वजनिक शौचालयको व्यवस्थापन गर्ने घोषणा गरेका थिए । उनले आफ्नो निजी शौचालयलाई सार्वजनिक बनाउन चाहनेसँग आवेदनसमेत आह्वान गरेका थिए । सयौंले आवेदन दिए । तर, एउटाले पनि कार्यान्वयन गरेनन् । सस्तो लोकप्रियता कमाउन र चर्चामा आउनका लागि व्यवसायीहरूले त्यो गरेको प्रमाणित भइसकेको छ ।

दिसापिसाब गर्न त निःशुल्क हुनुपर्यो । कर उठाउने नै हो भने अन्य क्षेत्र छन् । सर्वसाधारणलाई हिँड्न पनि सकस छ । महानगरपालिकाले सार्वजनिक शौचालय बनाउन चासो दिएको भए र शौचालय प्रयोग गरेबापत पैसा नलिइदिएको भए सडक फोहोर हुँदैनथ्यो ।

काठमाडौंका मेयर बालेनले सार्वजनिक शौचालयको व्यवस्थापन गर्नुपर्छ । अहिले सार्वजनिक शौचालयले लिइरहेको शुल्क हटाउनुपर्छ । होइन भने दिसापिसाब च्यापेकाले बाटोमै गरिदिने भएकाले उपत्यकाभित्रको सडक निकै फोहोर छ । हतारोमा हिँड्दा कहिलेकाहीँ जुत्ताले दिसा कुल्चिन्छ । पैदलयात्रीलाई पनि निकै समस्या छ ।

सार्वजनिक शौचालय प्रयोग गरे पनि पैसा लिइन्छ । तर, के सुविधा छ ? सार्वजनिक शौचालयको नाममा लुटतन्त्र मच्चाइएको छ । सार्वजनिक शौचालय भएको स्थानको परपरसम्म दुर्गन्ध आइरहेको हुन्छ । पराग खाएर थुकेको हुन्छ । कतिपय शौचालयमा चुकुल हुँदैन । चुरोटका ठुटाहरू फालिएको हुन्छ । न पानी हुन्छ न साबुन ।

सरकारले ‘दिसापिसाबमुक्त राष्ट्र’ घोषणा गरिसकेको छ । मुलुक दिसापिसाबमुक्त भएको हेर्न कहीँकतै जानैपर्दैन्, हिँड्दाहिँड्दै पुलमुनि हेरे हुन्छ । पुलमुनि दिसापिसाब गरिराखेका हुन्छन् । बाटोमा हिँड्ने सबैसँग पैसा हुँदैन । कुनै माग्न बसेका हुन्छन्, कुन मानसिकता गुमाएका हुन्छन् । उनीहरूलाई कहाँ छ शौचालयको व्यवस्था रु सडक छेउछाउ पेट्रोलपम्प छन् । लामो यात्रामा घन्टौं यात्रा गर्नुपर्ने हुन्छ । त्यस्तो बेलामा दिसापिसाब लाग्न सक्छ । पेट्रोलपम्पवालाहरूले पेट्रोल बेच्छन्, तर शौचालय प्रयोग गर्न दिँदैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *