विचार

अर्थमन्त्रीले भने जस्तै मुलुकको अर्थतन्त्र सुध्रिँदै गएको हो त ?

कानुनले जुवातास खेल्न प्रतिबन्ध लगाएको छ । जुवातास खेल्ने क्रममा प्रहरीले समातेमा जरिवाना पनि तिर्नुपर्छ, कैद सजाय पनि भोग्नुपर्छ । तर, जुवातास खेल्ने क्रम रोकिएको छैन । कतिपयले जुवातास खेलेर आफ्नो सम्पूर्ण सम्पत्ति सकाएका छन् त, कतिपयले सम्पत्ति सकाएपछि आत्महत्याको बाटो रोजेको घटना छ ।

जुवातास खेल्नेमध्ये एकजनाले जित्छ, हार्ने सुकुम्बासी बन्छ । सेयर पनि जुवातासजस्तै हो । मुलुकका ५५ जना सेयर खेलाडीले ६० लाख सर्वसाधारणलाई ‘उल्लु’ बनाइराखेका छन् । बैंकले प्रतिकित्ता एक सय रुपैयाँमा निकासा गरेको सेयर चार हजार रुपैयाँ पुर्याउने उनीहरू नै हुन् । त्यही शेयरलाई तीन सय रुपैयाँमा झार्नमा पनि यिनकै हात छ । ५५ जनाले ६० लाख सर्वसाधारणलाई सुकुम्बासी बनाएका छन्, उनीहरूसँग भएको पैसा थुतेर खाएका छन् । चार हजार कित्तामा सेयर किन्नेहरू डुबेर तनावमा छन् । केहीले आत्महत्या गरे त कतिपयले आफ्नो होश्हवास गुमाएका छन् ।

पूर्वअर्थमन्त्री युवराज खतिवडाले सेयर जुवा हो भनेका थिए । सेयरमा लगानी गर्दा होसियार हुनु भनेर उनले केही वर्षअघि खबरदारी गरेका थिए । सेयर दलालहरूले बजार उचाल्ने र पछार्ने गर्दै सर्वसाधारणलाई फसाए । दलालहरू आफू जोगिहाले, फसे सीधासाधी सर्वसाधारण । अहिले बजारमा आर्थिक मन्दी आउनुको तीन कारण छ । पहिलो, घरजग्गा, दोस्रो, सेयर, तेस्रो, गाडी । लहैलहैमा लाग्दा यी तीन क्षेत्रले सर्वसाधारणलाई नराम्ररी डुबाएको छ । बैंक तथा वित्तीय संस्थाको पैसा पनि यतै फ्रिज भएको छ । तीन वर्षअघि घरजग्गा, सेयर र गाडीको मूल्य ह्वात्ह्वात्ती बढ्यो । अहिले कारोबार नै ठप्प छ । जसकारण मूल्य स्वाठ्ठै घटेको छ ।

वर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले केही दिनअघि एक कार्यक्रममा अर्थतन्त्र ठीकठाक रहेको बताए । आफू आएपछि अर्थतन्त्र सुध्रिएको उनको दाबी छ । मालपोतमा गएर हेर्नुपर्यो, घरजग्गाको कारोबार कति फस्टाएको छ ? सेयर बजार र अटो बजार पनि पहिलेको अवस्थामा आइसकेको उनको दाबी छ । उनलाई कहाँ गएर वित्तीय संस्था र सर्वसाधारणको पैसा फ्रिज भयो भन्ने नै थाहा छैन ।

सहकारी र लघुवित्त डुब्नु तथा बैंक तथा वित्तीय संस्था टाट पल्टिनुको प्रमुख कारण घरजग्गा, सेयर र गाडी हो । नाफा चौब्बर हुने भएपछि बैंक तथा वित्तीय संस्था र सहकारीले आँखा चिम्लेर लगानी गरे । सहकारीहरू आफ्नो कर्जा लगानी उठाउन नसक्दा डुबिहाले । व्यापार व्यवसाय ठप्प छ । बजार आर्थिक मन्दीले छोपेको छ । हिजो बानेश्वरस्थित अन्तर्राष्ट्रिय भवनपछाडि एकजना व्यक्ति एउटा एक हजार रुपैयाँको नोट साट्न २० वटा पसल धाए । तैपनि सटही हुन सकेन । व्यापारीहरू ‘बोहनी’ नभएको भन्दै हजारको नोट साट्न मानिरहेका थिएनन् ।

जतिबेला पनि मान्छेको भीड हुने अन्तर्राष्ट्रिय भवन पछाडिको हालत त यस्तो छ भने अरु स्थानमा के होला ? बजारमा यस्तो मन्दी छ, तर मुलुकका अर्थमन्त्री सेयर र घरजग्गाको अर्थतन्त्र चलायमान बनाइसकेको बताउँछन् । मुलुकमा बेरोजगारीको दर बढिरहेको छ । काम नपाउँदा सर्वसाधारणहरूलाई छाक कसरी टार्ने ? भन्ने समस्याले पिरोलेको छ । बजारमा पाँच सय र हजारको नोटको हाहाकार छ । भएकाहरूले घरमा लुकाएका छन् । बजारमा त्यो पैसा निस्किन पाएको छैन । पैसा बजारमा ननिस्किन अर्थतन्त्र कसरी चलायमान हुन्छ ? घरमा पैसा लुकाएकाहरूले मिटरब्याजमा कर्जा लगानी गरिराखेका छन् । तराई–मधेशमा मौलाएको मिटरब्याजको रोग अहिले काठमाडौं उपत्यका र अन्य जिल्लामा सरेको छ ।

एक करोड रुपैयाँको घरजग्गा मिटरब्याजीहरूले २५ देखि ३० लाखमा पास गरेर लगिरहेका छन् । ६ महिनादेखि एक वर्षको समयावधि दिने, तिर्न सकेन् भने खाइदिन्छन् । नामसारीको राजश्व पनि कर्जा लिनेबाटै उठाउँछन् । सरकारले साँच्चै अर्थतन्त्र ट्रयाकमा ल्याउने हो भने पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लगाउनुपर्छ । सरकारले यो निर्णय गर्ने हो भने व्यक्तिहरूले घरमा लुकाएको पैसा बैंकमा आउँछ । राज्यलाई टाट पल्टाउने अनि आफू सम्पत्ति जोड्ने प्रवृत्ति नेपालमा मौलाएको छ । भ्रष्टाचार गरेको पैसा पनि घरमै थुपारेका छन् । राजश्व छलेको, मिटरब्याजमा लगानी गरेको पैसा घरमा लुकाइएको छ ।

सहकारीले पैसा खाइदिएपछि सर्वसाधारणले बैंकमा पनि पैसा राख्न छाडे । सबैले पैसा घरमै राख्न थाले । नेपाल राष्ट्र बैंकले बजारमा पैसा पठाइरहेको छ, तर त्यो कहाँ छ ? थाहा छैन । बजारमा पैसा घुमिरहेको छ कि छैन ? आधाभन्दा बढी घरमा थुप्रिरहेको छ अनि बजार कसरी चलायमान हुन्छ ? बैंकले एकैचोटि सबै बचत दिइराखेको छैन । पैसा एकमुष्ट नदिएपछि निक्षेपकर्ताहरूले थरीथरीका अड्कलबाजी लगाउन थालेका छन् । लघुवित्त र सहकारीबाट सर्वसाधारणले चेतिसकेका छन् । ब्याजको लोभ देखाए पनि राख्दैनन्, आफ्नै आफन्त भए पनि विश्वास गर्दैनन् ।

जग्गाको कित्ताकाट खोल्दा पनि घरजग्गा कारोबार बढेको छैन । सरकारले सेयरमा भएको १२ करोडको सीमा हटाएको छ । तैपनि कुनै प्रभाव परेको छैन । प्रत्येक दिन सटर, कोठा र फ्ल्याट खाली भइरहेको छ । व्यवसायीहरूले धमाधम व्यवसाय छोडिरहेका छन् । काम गर्ने ठाउँमा तलब नदिएर कामदारहरू भोकभोकै परेका छन् । एकातिर काम पाउँदैन्, अर्कोतिर काम गरेको पनि तलब पाउन सकिएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मुलुक छोड्नेको भीड छ । लक्ष्यअनुरूप राजश्व संकलन हुन सकेको छैन ।

मुलुक विदेशी ऋणमा फसिसकेको छ । जनताले तिरेको करले सरकारी खर्च धान्न सक्दैन, ऋण कहाँबाट तिर्नु ? नेपालमा भएका उद्योग, कलकारखाना सबै बन्द भइसक्यो । बैंकहरू डुबेर मर्ज भएका छन् । बैंकले सेयर होल्डरहरूलाई बोनस दिन सकेको छैन । बैंकको सेयर बेच्ने यत्तिकै छन्, किन्ने कोही छैन । अर्थमन्त्रीले अझै पनि मुलुकको अर्थतन्त्र ठीकठाक छ भन्नु सञ्चारमाध्यमलाई ढाँट्नु हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *