काठमाडौं । काठमाडौंको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभकै कारण हजारौंको बिल्लीबाठ भएको छ । को–अपरेटिभका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कमाचार्यले धेरैको आर्थिक अवस्था हरितन्नम पारिदिएका छन् ।
सिन्सियरले स्थापनाकालदेखि नै ठगीधन्दा मच्चाउँदै आएको छ । २३ वर्षअघि राजेन्द्रभक्त, राजेश र मीरालाई देखेकाहरू अहिले उनीहरूको सानदार जीवनशैली हेर्दा आश्चर्यचकित बन्छन् । गाडी भाडा तिर्ने पैसा नभएर कलंकीबाट पुतलीसडक पैदल आउने राजेशको आज करोडौंको सम्पत्ति छ । ऋणीको घरपरिवार तहसनहस बनाउँदै आफूचाँहि महलमा बस्छन् राजेश । उपत्यकामै जन्मिएका भए पनि पुख्र्यौली सम्पत्ति नभएका राजेन्द्रभक्तले अर्बौंको सम्पत्ति जोडेका छन् । २३ वर्षअघि हल्लिएर हिँड्ने उनको अहिले महाराजगञ्जमा आलिशान घर छ । करोडौं पर्ने गाडी चढेर हिँडछन् ।
मीरा पहिले सामान्य फार्मेसीमा काम गर्थिन् । मासिक १० हजार तलबमा काम गर्ने उनलाई राजेन्द्रभक्तले सिन्सियरमा ल्याएका हुन् । १५ वर्षअघि केही नभएकी मीराले सिन्सियरमा आएपछि करोडौंको सम्पत्ति जोडिन् । एउटा सहकारी खोलेर यिनीहरू अरबपति र करोडपति बन्न कसरी सफल भए त ? सुुरुका दिनदेखि नै सिन्सियरले सोझासीधा जनतालाई आफ्नो जालोमा फसाउँदै आएको थियो । अधिकांश कर्जा लगानी थोत्रा ट्याक्सीमा गरेको सिन्सियरले ट्याक्सी चालकहरूलाई सोत्तर बनायो । सिन्सियरबाट ऋण लिएर ट्याक्सी व्यवसायी सञ्चालन गर्नेहरू कहीँकतैको बाँकी रहेनन् । १५ लाखको ट्याक्सी राखेर १० लाख कर्जा दिने सिन्सियरले त्यसबापत २५ हजार त घुस नै खान्छ ।
सेवाशुल्क २० हजार रुपैयाँ लिने गरेको छ । कर्जा दिने बेलामा पाँचदेखि सात वर्षका लागि भनेर दिने । तर, वर्षैपिच्छे नवीकरण शुल्क भनेर दुई प्रतिशत लिने । ब्याज पनि १८ देखि २२ प्रतिशत लिँदै आएको छ । ऋणीले किस्ताबापत तिरेको रकम जरिवाना र ब्याजमा भन्दै कटाइदिन्छन् । ऋणी किस्ता हालेको हाल्यै गर्छन्, तर साँवा घट्दैन् । ऋण चुक्ता गर्ने बेलामा पनि दुई प्रतिशत सेवाशुल्क लिन्छ ।
सहकारी विभागले सेवाशुल्कका नाममा जथाभावी पैसा उठाउन नपाउने नियम बनाएको छ । तर, विभागको नियमलाई सिन्सियरले ‘धोती’ लगाइदिएको छ । राम्रो धितो छ भने ऋणीले ऋण तिरिसकेपछि पनि फुक्का गर्दैन । ट्याक्सी चालकहरू धेरै पढेलेखेको नहुने भएकाले उनीहरूलाई छक्याएर सिन्सियरले फाइदा उठाउने गरेको छ ।
ट्याक्सीमा मात्र होइन, घरजग्गा, सेयरलगायत अन्य धितो राखेर कर्जा लिनेको अवस्था उही छ । सिन्सियरले किस्ता हिनामिना गरेको अधिक गुनासो छ । खाताबाटै बचत रकम गायब हुने गरेको बचतकर्ताहरू बताउँछन् । बचतकर्ताको निधन भएमा उसका परिवारलाई बोलाएर उसको खातामा भएको रकम फिर्ता दिँदैन सिन्सियर । तीन किस्ता नतिर्नेबित्तिकै धितो तानिहाल्छ । ऋणीले तीन किस्ताको रकम तिर्छु, लिलाम नगरिदिनुभन्दा पनि मान्दैनन् हर्ताकर्ता । धितो बेचेर बढी आएको रकम पनि तिनीहरू नै पचाउँछन् ।
ऋणीले त्यहाँबाट एउटा सुको पनि पाउँदैन् । ऋणीले रोकिएको किस्ता तिरेर ऋण अर्को सहकारी वा बैंकमा सार्छु भन्दा पनि सिन्सियरले दिँदैन । ऋण खाने व्यक्तिले अलिक ठूलो स्वर गर्यो कि अफिसमै गुण्डा बोलाएर कुटपिट गर्ने गरिएको छ । ऋणी कानुनको बाटो जान खोज्यो भने एउटा केस लगाएर थुनाउने गरिएको छ । सिन्सियरले तमसुक गराउँदा त्यहाँ उल्लेख भएका विषय पढेर नसुनाउने ऋणीहरूको भनाइ छ ।
ऋणीलाई तमसुकमा के लेखेको छ ? पढेर सुनाउनुपर्छ । पढ्न पनि दिनुपर्छ । तमसुकमा भएको विषयवस्तुमा मञ्जुर भएमा मात्र ऋणीले दायाँबायाँको ल्याप्चे लगाउने हो । तर, सिन्सियरले त पढ्न पनि दिँदैन्, पढेर पनि सुनाउँदैन । त्यतिबेलै फोटोकपी पेपर र नेपाली कागजमा हस्ताक्षर गर्न लगाउँछ, ल्याप्चे लाउन लगाउँछ । जुन सरासर गैरकानुनी हो । कुनै पनि व्यक्ति वा संस्थाले खाली कागजमा कसैको हस्ताक्षर वा ल्याप्चे लगाएर राख्न मिल्दैन ।
ऋणीले अलिकति मात्र चर्को स्वर गरेमा सिन्सियरले आफ्नो मनगढन्ते कहानी लेखेर धितो खाइदिन्छ । ऋणी मालपोत र यातायात कार्यालय गएकै हुँदैनन्, धितो सिन्सियरको नाममा आइसक्छ । सरकारी कागजात सरकारी कार्यालयको गेटबाहिर ल्याउन नपाउने कानुनमा उल्लेख छ । तर, सिन्सियरले मालपोत र यातायातका फाइल आफ्नै संस्थामा ल्याउँछ । ऋणीलाई सिन्सियरमै हस्ताक्षर गर्न लगाइन्छ ।
सिन्सियरका कर्मचारीले कि मालपोत र यातायातका कर्मचारीलाई घुस खुवाएर ल्याउँछ कि चोरेर । सिन्सियरबाट ऋणी लिन सबै विस्थापित भएका छन् । कुनै जेलमा छन् । कुनै पागल भए । कोही सडकछाप भए । कति देश नै छोडेर पलायन भए । कतिपय भूमिगत भए । कोही उभो लाग्न पाएनन् । सिन्सियरले धितो खाइदिँदा उनीहरूको सडकको बास भएको छ ।
जनता र राज्यलाई भुङ्ग्रोमा राखेर ठगी गर्दै आएका उनीहरूको कर्तुत अहिलेसम्म मिडियाले देखेन । यिनीहरूले राजनीतिक आडमै लुटतन्त्र मच्चाएको स्पष्ट छ । उनीहरूको बोलीबाट यो कुरा प्रमाणित हुन्छ । सिन्सियरले हजारौंलाई पीडित बनाएको छ भन्ने त छरपष्ट भइसकेको छ । सिन्सियरका तीन हर्ताकर्ताले कसरी अंकुत सम्पत्ति कमाए ? तिनलाई चिन्नेहरू हरेकलाई थाहा छ । सिन्सियरको ठगीधन्दाको विरोधमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परिसकेको छ । अब न्याय पाइन्छ कि भन्ने आश उनीहरूमा पलाएको छ । राजेन्द्र, राजेश र मीरालाई कानुनको दायरामा ल्याउनुपर्ने माग पीडितहरूको छ । उनीहरूले कमाएको सम्पत्तिसमेत राष्ट्रियकरण गर्नुपर्ने माग उठेको छ ।




