काठमाडौ. । बंगलादेशको विपक्षी दल बंगलादेश नेशनल पार्टी (बीएनपी)की नेतृ खालिदा जिया रिहा भएकी छिन् । लामो समयदेखि जेल सजाय काटिरहेकी जिया मंगलबार रिहा भएकी हुन् ।
हिंस्रक आन्दोलनको बिचमा जियाकी चिर प्रतिद्वन्द्वी शेख हसिनाको नेतृत्वको सरकार ढलेपछि उनी रिह भएकी हुन् । बंगलादेशको नेतृत्व अहिले सेनाले कमान्डको हातमा छ ।
राष्ट्रपति मोहम्मद शाहाबुद्दिन, सेनाका तीन प्रमुख, विभिन्न राजनीतिक दलका नेताहरू, नागरिक समाजका प्रतिनिधि र भेदभाव विरोधी विद्यार्थी आन्दोलनको नेताहरूबीचको भेटवार्तापछि जियालाई रिहा गरिएको बाङ्गभवनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । ७९ वर्षकी पूर्वप्रधानमन्त्री जिया यतिबेला लिभर सिरोसिस, मधुमेहले ग्रस्त छिन् । उनलाई मृगौला, फोक्सो, मुटु र आँखासम्बन्धी कयौँ रोग पनि लागेको जनाइएको छ ।
सन् २०२१ को नोेभम्बरमा लिभर सिरोसिस देखिएयता नै जियाका डाक्टरहरूले उनलाई उपचारका लागि विदेश पठाउन भनिरहेका थिए । जिया अनाथ ट्रष्टमा भ्रष्टाचारको मुद्दामा दोषी पाइएपछि सन् २०१८ को फेब्रुअरी ८ मा जियालाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो । उनी अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी थिइन् । उनलाई कोभिडको बेला केही समय रिहा गरिएको थियो ।




