काठमाडौं । अमेरिकाले रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने बताइएको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहाकार दलिप सिंहले सिबिएससँगको एक अन्तर्वार्तामा अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्ध थप विस्तार गर्न सक्ने बताएका हुन् । यस प्रतिबन्धले रुसको अर्थतन्त्र अझै प्रभावित हुने आंकलन गरिएको छ ।
अन्तर्वार्तामा दलीप सिंहले रुस पहिले नै आर्थिक खाडलमा उन्मुख भएको र सन् १९८० को दशकको सोभियत जीवन स्तरमा द्रुत गतिमा फर्किँदै गएको बताए ।
रुसले जारी प्रतिबन्धका कारण पहिले नै संकटको सामना गरिरहेको छ तर सिंहले यी प्रतिबन्धहरूलाई अझै फराकिलो बनाउन र अन्य क्षेत्रहरूलाई लक्षित गर्न सकिने बताए । वित्तिय संस्थालगायत पहिले प्रतिबन्ध नलगाएका क्षेत्रलाई लक्षित गरि प्रतिबन्ध गरिने छ ।
‘तेल र ग्यासबाहके अन्य क्षेत्र पनि प्रतिबन्धमा समावेश हुनेछन्, म तिनीहरूबारे सटिक जानकारी दिन चाहन्न, पुटिनले ती क्षेत्रहरू के हुन् भनेर थाहा पाउनेछन्,’ उनले भने ।
दलीप सिंहले एक अनुमानका अनुसार यी प्रतिबन्धले रुसको अर्थतन्त्र युक्रेनमाथि आक्रमण गर्नुभन्दा अघिको तुलनामा आधाले घट्ने बताए ।




