विश्व

राष्ट्रपति जेलेन्स्कीद्वारा युक्रेन छोड्न अस्वीकार

किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देश छाड्न अस्वीकार गर्दै आफ्ना देशवासीलाई दृढ रहन आग्रह गरेका छन्। जेलेन्स्कीले यस्तो महत्त्वपूर्ण लडाइँका वेला आफूले देश नछाड्ने स्पष्ट पारेका हुन्।

जेलेन्स्कीलाई अमेरिकी सरकारले राजधानी किभ छोडी सुरक्षित स्थलतर्फ पलायन हुन आग्रह गरेको थियो। जेलेन्स्कीले यो अस्वीकार गरेका छन्।

युक्रेनी राष्ट्रपतिले भने, ‘यहाँ युद्ध भइरहेको छ। मलाई गोला बारुद चाहियो, यात्रा होइन।’

उनले रूससँगको युद्धमा पश्चिमा शक्तिले सहयोग नगरेको आरोप लगाउँदै आएका छन्। बेलायत‚ अमेरिका जस्ता पश्चिमा मुलुकका साथै नेटो जस्ता सैन्य संगठनले धोका दिएको उनको बुझाइ छ।

रूसी सेनाले शनिबार बिहान युक्रेनको राजधानी किभमा आक्रमण गरे र शहरमा विस्फोटको आवाज सुनियो।

यो भिडन्तमा अहिलेसम्म सयौंको ज्यान गएको बताइएको छ। रूसी सेनाले गरेको आक्रमणबाट किभमा अपार्टमेन्ट भवन, पुल र विद्यालयमा व्यापक क्षति पुगेको छ।

रूसले युक्रेनको वर्तमान सरकारलाई हटाउने प्रयास गर्न सक्ने देखिएको छ। अमेरिकी अधिकारीहरूका अनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको उद्देश्य युक्रेनको वर्तमान सरकारलाई अपदस्थ गर्ने हो।

विश्वको नक्सा परिवर्तन गर्ने र रूसको शीतयुद्धको प्रभावलाई पुनःस्थापना गर्ने पुटिनको यो सबैभन्दा ठूलो कदम हो। यद्यपि यो युद्धमा युक्रेनको कति भूभाग अझै पनि आफ्नो कब्जामा छ र कति रूसको नियन्त्रणमा छ भन्ने स्पष्ट भइसकेको छैन।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्धविरामको लागि आह्वान गरे र धेरै शहरहरू आक्रमणको चपेटामा परेको बताएका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने, ‘आज राति हामी दृढ भएर लड्नुपर्छ। युक्रेनको भविष्य आज निर्धारण हुनेछ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *