विश्व

रूसमा भएको युक्रेनी आक्रमणमा १३ जनाको मृत्यु, ७५ घाइते

रूसको तातारस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक बालकसहित कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

युक्रेनी ड्रोन आक्रमणले निज्नेकामस्क सहरमा दुई वर्षभन्दा लामो समयमा भएको सबैभन्दा घातक आक्रमण भएको बताएको छ । मस्कोबाट करिब एक हजार किलोमिटर पूर्वमा रहेको निज्नेकामस्कस्थित अत्याधुनिक तेल प्रशोधन केन्द्रलाई युक्रेनको सशस्त्र बलले निशाना बनाएको बताइएको छ ।

रूसी अनुसन्धान समितिका अनुसार निज्नेकामस्कमा मृत्यु हुनेहरूमध्ये एक जना बालक रहेको रिपोर्ट गरिएको थियो भने २१ जना घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको यस क्षेत्रको सञ्चार सेवाले जनाएको छ । यसैबीच, युक्रेनको सिमानामा रहेको बेलगोरोडको रूसी क्षेत्रमा विगत २४ घण्टामा थप चार जनाको मृत्यु भएको यस क्षेत्रका कार्यवाहक गभर्नर अलेक्जान्डर सुवायेभले पुष्टि गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत प्रसारण भएका तथा सिएनएनद्वारा सम्पे्रषण गरिएका भिडियो सामाग्रीहरूमा एउटा तेल प्रशोधन केन्द्रको टावरहरू जस्तो देखिने नजिकै सहर बाहिरको क्षेत्रबाट ठूलो आगो लागेको र धुवाँको मुस्लो उठेको देखिएको थियो । के प्रहार गरेर आक्रमण भएको थियो भन्ने बारे भने भिडियोमा स्पष्ट हुन सकेको छैन ।

पछिल्लो समयमा किएभ र मस्को दुवैले एक–अर्का विरुद्ध हवाई तथा ड्रोन आक्रमणलाई तीव्र बनाएका छन् भने प्रत्यक्ष युद्धहरू धेरै हदसम्म स्थिर भएको जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कलाई उद्धृत गर्दै सिएनएनले सन् २०२२ अप्रिलपछि युक्रेनी नागरिकहरूका लागि जुलाई सबैभन्दा घातक महिना भएको जनाएको छ । यस वर्षको पहिलो छ महिनामा एक हजार ३९६ जनाको मृत्यु हुनुका साथै सात हजार ९७८ जना घाइते भएका छन् । यो आँकडा सन् २०२४ र २०२५ को तुलनामा वृद्धि भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

युक्रेनको लामो दूरीको ड्रोन प्रणालीमा पछिल्लो समयमा सुधार देखिएकोे छ भने रूसमा विभिन्न पूर्वाधारमा बारम्बार प्रहार गर्ने नयाँ क्षमता प्रदर्शन गरेको छ । आक्रमणमा तेल प्रशोधन केन्द्र, ट्याङ्करहरू, पावर स्टेशनहरू र अन्य ऊर्जा पूर्वाधारका साथै रूसको सबैभन्दा ठूलो अनलाइन रिटेलर, वाइल्डबेरीका गोदामहरू लक्षित गरिएको सिएनएनले उल्लेख गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *