संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा गरिएको युद्ध–विराम प्रयासलाई अस्वीकार गर्दै हेजबुल्लाह विरुद्धको आसन्न आक्रमणको चेतावनी पछि इजरायली वायु सेनाले शुक्रबार लेबनानको गाउँमा आक्रमण गरेको छ ।
गत फेब्रुअरी –२८ मा इरानका सर्वोच्च नेताको हत्याको बदला लिन हिज्बुल्लाहले मार्च –२ मा इजरायल माथि आक्रमण गरे पछि लेबनान मध्यपूर्वको चरम युद्धमा तानिएको थियो ।
यस हप्ता वासिङ्टनमा भएको लेबनानी र इजरायली दूतहरूको सयुक्त बैठकमा हेजबुल्लाहले स्पष्ट असहमती जनाउदै सशर्त युद्ध–विराममा सहमति भएको थियो । जसमा हेजबुल्लाह समूहले प्रभावकारी युद्ध–विराम र दक्षिण लेबनानबाट पूर्ण इजरायली फिर्तीको माग गरेको थियो ।
इजरायलले इरानसँगको युद्ध सुरु भए देखि लेबनानमा आफ्नो चर्को आक्रमण गरेको छ, जुन युद्ध आफ्नो सहयोगी अमेरिकासँग मिलेर सुरु गरेको थियो ।
शुक्रबार इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले दक्षिण लेबनानको सराफान्डसहित ६ वटा अन्य सहर र गाउँका बासिन्दाहरूलाई तत्काल खाली गर्न चेतावनी दिएको शुक्रबार बताउनु भएको छ ।
यस अघि उहाँले दक्षिणी लेबनानको लिटानी नदीको उत्तरमा रहेका तीनवटा गाउँका वासिन्दाहरुलाई आफ्नो घर छोड्न चेतावनी दिएको जनाउनु भएको थियो ।
आफ्नो सुरक्षाका लागि, तुरुन्तै आफ्नो घर खाली गरी सहरबाट कम्तिमा एक हजार मिटर टाढा खुला क्षेत्रमा जान आदेश दिएको प्रवक्ता अद्राईले उल्लेख गर्नु भएको छ ।
हेजबुल्लाहका कार्यकर्ताहरू, उनीहरूको सुविधाहरू, वा उनीहरूको हतियारहरू भण्डारणको नजिक रहेमा उनीहरूलाई खतरा रहने पनि सुझाव दिइएको छ ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीले चेतावनी जारी गरिएका गाउँहरूबाट सामूहिक विस्थापन भएको रिपोर्ट गर्दै एउटा गाउँमा आक्रमण भईसकेको रिपोर्ट गरेको छ ।
लेबनानको दक्षिणी सहर टायरमा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु भएको लेबनानको नागरिक सुरक्षा स्रोतलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
यस अघि हेजबुल्लाह प्रमुख नईम कासिमले बिहीबार वाशिंगटनमा लेबनानी र इजरायली दूतहरूले घोषणा गरेको युद्ध–विरामलाई अस्वीकार गरेका थिए ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले सेनाले “यस चरणमा, आफ्ना अपरेसनहरू जारी राख्ने बताउनु भएको थियो ।
हेजबुल्लाहले इजरायली समुदायमाथि आक्रमण गरेमा इजरायली सेनालाई लेबनानको राजधानी बेरुतमा आक्रमण गर्ने “स्वतन्त्रता“ रहेको पनि उहाँले बताउनुभएको थियो ।
टायर सहरको जबल अमेल अस्पताल नजिकै भएको इजरायली आक्रमणमा रातारात चार जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएको जनाइएको छ । यसैगरी आवासीय क्षेत्रमा भएको अर्को आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने दुई बच्चासहित पाँच जना घाइते भएका छन् ।
इजरायली बासिन्दाहरूलाई टायरको अधिकांश भाग छोड्न आदेश दिए पछि, धेरै मानिसहरू अनेत्रका शहरहरुमा शरण लिन बाध्य भएको जनाइएको छ ।
आश्रयहरू भरिएका कारण, विस्थापित बासिन्दाहरू कार वा शिविरमा सुतिरहेको जनाइएको छ ।
हेजबुल्लाह लेबनानको लडाकु समूह हो जसले सन् १९७५–१९९० को गृह युद्ध पछि आफ्नो हतियार हस्तान्तरण गर्न अस्वीकार गरेको थियो ।
लेबनानी सरकारले हेजबुल्लाहको सैन्य गतिविधिलाई अवैध घोषणा गरेको छ भने इजरायल नजिकैको लिटानी नदीको दक्षिण क्षेत्रमा उक्त समूहलाई निशस्त्र पार्ने प्रयास भईरहेको जनाइएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले मार्च –२ देखि इजरायलले गरेको आक्रमणमा कम्तीमा तीन हजार ५२६ जनाको मृत्यु भएको जनाएको छ ।




